- दिवस गुरागाईं
काठमाडौँ ।
‘प्लिज, फिल्म चल्दा–चल्दै समीक्षा नगरिदिनुहोला ।’ नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरु निकै अघिदेखि समीक्षकहरुलाई यस्तो अनुरोध गर्दै आएका छन् । दर्शक भड्किन्छन् भन्ने भय हो, उनीहरुलाई । तर, यो मान्नै पर्ने अनुरोध चाहिँ होइन । प्रदर्शनक्रममा रहेको ‘आमा’का सवालमा भने मानेकै ठानियो भने गलत हुन्न । आमा रिलिज भएको तीन साता कट्यो ।
आमा । सबैभन्दा आदरणीय र प्रिय नाता हो, संसारका मानिसहरुलाई । अझ भन्ने नै हो भने प्राणिजगतलाई समेत । खासगरी सृष्टिकर्ता हुन् आमा । छोटकरीमा भन्नुपर्दा यो संसारको सबैभन्दा नजिकको नाता पनि हो । यो शब्द र सम्बन्धको प्रयोग सही ठाऊँमा भएन भने जो कोहीको मन कुँडिन सक्छ । चलचित्र आमा हेरेपछि यस्तै भान हुन्छ । यस फिल्मको नाम किन ‘आमा’ राखियो भन्नेमा नै सबैभन्दा ठूलो प्रश्न उब्जन्छ । पोष्टरमा लेखिएको छ, ‘सम्पूर्ण आमाहरुमा समर्पित ।’ तर चलचित्रमा यो भनाई पुष्टि हुँदैन ।
यो त्यस्तो चलचित्र हो, जहाँका कुनैपनि पात्र आमा भएर बाँचेका छैनन् । मूख्यपात्र सुरक्षा पन्तको कुरा गरौं । उनी छोरी हुनुको उत्तरदायित्व पुरा गर्नमा नै सम्पूर्ण बल लगाउँछिन् । त्यो पनि आमाका लागि होइन, बाबुको ज्यान जोगाउनदेखि अन्तिम संस्कार पुरा गर्दासम्म । अर्को कुरा, उनी आफैंमा आमा हुन सकिरहेकी छैनन् । र, आमा हुन उनलाई गहिरो रुची पनि छैन । उनले बोलेको एउटा संवाद छ ‘पहिला सन्तान हुन्छु अनि आमा ।
सुरक्षा पन्तपछि मिथिला शर्मा छिन् महत्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र । उनी चलचित्रभरी अचेत श्रीमानको कुरुवाको भूमीकामा सीमित छिन् । घरीघरी विदेशमा रहेको छोरासँगको फोन वार्तामा उनी आमा हुन खोज्छिन् । तर, त्यसबेला उनलाई लोग्नेको साहाराका रुपमा छोराको आवश्यकता बढी हुन्छ । श्रीमानको मृत्युले उनी थला पर्छिन् । र, श्रीमानसँगै उनको दाहसंस्कार हुन्छ ।
अरु दुई महिला सहायक पात्र छन् फिल्ममा । ती मध्ये एउटी सरिता गिरी जो अस्पतालमा सुत्केरी भएकि छिन् । तर आफ्नै बच्चालाई छुन पाएकी छैनन् । आमाको भूमीका निर्वाह गर्न प्रतिक्षारत छिन्, उनी । गानिएको दुध निचोरेर फाल्ने अभागी आमा पनि हुन् उनी । उनी छोटो भूमीकामा छिन् । तुलनात्मकरुपमा उनी आमा जस्ती लाग्छिन् ।
यस बाहेक हजुरआमा छिन् चलचित्रमा । उनी छोरा भएर पनि नातीसँग बसेकी छिन् । अर्थात् उनलाई पनि आमाको दायित्व दिइएको छैन । छोटकरीमा भन्नु पर्दा चलचित्र आमामा ‘आमा’ पात्र नै छैनन् ।
अस्पतालको फटाईंका कारण लोग्ने वा बाबुको मृत्युपछि आर्थिक अभावको शिकार बन्दाको कथा हो, आमा । मुलकथाले कहिल्यै पनि आमासँग सम्बन्ध नै गाँस्दैन । त्यसकारण ‘आमा’ले नामको दुरुपयोग गरेको छ भन्दा फरक पर्दैन ।
चलचित्रको अर्को कमजोर पक्ष भनेको चरित्र चित्रण हो । बाउ विरामी भएको कुरा सुन्दा, ‘अप्रेसन’ पछि ‘भेन्ट्रिलेटर’मा राख्दा र बाउको मृत्यु भइसक्दाका तीन चरणसम्म प्रमुख पात्रको मनोदशा उस्तै छ । उनी सुरुदेखि अन्त्यसम्म रिसाउँछिन् मात्र । त्यही कारण पात्रसँग दर्शकको लगाव नै हुन पाउँदैन ।
पात्रलाई धेरै रुवाइएको छ । तर, उनीहरुको रुवाईलाई दर्शकले अनुभुत गर्दैनन् । किनभने मर्न लागेका बुवाप्रति मुलपात्रको सम्बन्ध देखाईंदैन । अस्पतालमा बेहाल भएको लोग्नेप्रतिको सम्बन्ध कोट्याईंदैन । आमा–छोरीको सम्बन्ध पनि सम्बोधनमा नै सीमित छ । आँशुको ब्यापार गर्ने ‘इन्टेन्सन्’ देखिन्छ, आमाका निर्देशकको । तर, पात्रप्रति सहानुभूती जगाउन नसक्दा भने उनले दर्शकको आँशु झार्न सकेका छैनन् ।
खासमा ‘आमा’ अस्पतालको कथा हो । हिन्दी चलचित्र ‘गब्बर इज ब्याक’ हेरेकाहरुका लागि यो प्लट पनि फितलो लाग्छ । चलचित्र पशुपति प्रसादका कथाकार तथा निर्देशक दीपेन्द्र के. खनाल कृत भनेर पोष्टरमा लेखिएको छ । तर, पशुपति प्रसाद अतुलनीय लाग्छ, आमा हेरेपछि ।





























प्रतिक्रिया