राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण देखिएन

राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण देखिएन

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना संक्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना संक्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकार गरेकोे र रिपोर्टमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

संयुक्तराज्य अमेरिकामा कोराना भाइरसको संक्रमणबाट कम्तीमा ५१ जनाको निधन भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गरेका थिए । देशभरका स्कुल र कलेजहरु बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ । अमेरिकी शहर न्यूयोर्कमा शनिबार एक जनाकोे कोरोना संक्रमणबाट निधन भएको थियो । यहाँ डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिसहरु सामान खरिद गर्न तँछाडमछाड गरेका थिए ।

उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेहरुका लागि थप कडाई गर्नु परेको बताएका छन् । उनले मंगलबारदेखि लागू हुने गरी बेलायत र आयरल्यान्डमाथि पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । अब कुनै पनि युरोपेली मुलुकबाट अमेरिका यात्रा गर्न नपाइने अवस्था सिर्जना भएको छ ।
अमेरिकी विमानस्थलमा यात्रुहरुमाथि कडा जाँच गर्नु परेका कारण विमानस्थलहरुमा भिडभाड देखिएको छ । मानिसहरुलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौ लाइनमा बस्नु परेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको प्रसार तिब्र भएलगत्तै आपतकालको घोषणा गर्नुका साथै विपद राहतका लागि ४० अर्ब अमेरिकी डलरको राहत घोषणा गरेका छन् । अमेरिकी संसदले पनि निःशुल्क भाइरस परीक्षण गर्न तथा आपतकालीन तलबी बिरामी बिदा र पारिवारिक बिदाका लागि उक्त रकमबाट व्यवस्था गर्ने गरी राष्ट्रपतिको प्रस्तावलाई अनुमोदन गरेको छ । साे प्रस्तावलाई सिनेटले पनि अनुमोदन गर्ने विश्वास गरिएको छ ।

कोरोना संक्रमणका कारण विश्वका एक सय ३७ देशका पाँच हजार आठ सय भन्दा बढी मानिसको निधन भइसकेको छ । ––रासस/एएफपी

Logo