पोखरा ।
१८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
यससँगै मनाङले छैठाैँ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ । उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा मनाङ सफल भयो । टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे ।
मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए । खेल अतिरिक्त समयमा धकेलिनु अघि दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।































प्रतिक्रिया