जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न कानुनमन्त्रीको आग्रह

जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न कानुनमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

खोटाङ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधीलाई आग्रह गरेकी छिन् ।

खोटाङको दिक्तेलमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले स्थानीय तहका जनप्रतिनिधि जनतासँग सिधा सम्पर्कमा हुने भएकाले जनचाहना अनुसार काम गर्न आग्रह गरिन् । “जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि रहेको छ”, उनले भनिन्, “उनीहरुको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नुहोस् ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रकाशन गरेको ‘कानून सङ्ग्रह भाग–१’ सार्वजनिक गर्दै मन्त्री तुम्बाहाम्फेले जनप्रतिनिधिलाई सहयोग गर्न राष्ट्रसेवक कर्मचारीलाई समेत निर्देशन दिइन् । “सबैको सहकार्यबाट मात्रै सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ”, उनले भनिन्, “समृद्ध देश र सुखी नेपालीको चाहना पूरा गर्न सबै एकताबद्ध हुनुपर्छ ।”

नेपालको संविधान परिवर्तनशील रहेको बताउँदै मन्त्री तुम्बाहाम्फेले समय र परिस्थिति अनुसार संशोधन गर्दै जाने बताइन् । “हाम्रो संविधान ढुङगाले लेखिएको अक्षर हैन । संशोधन गर्न सकिन्छ”, उनले भनिन्, “परिवर्तनशील छ भन्दैमा कुनै समूह अथवा व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि परिमार्जन हुँदैन ।”

मन्त्री तुम्बाहाम्फेले स्थानीय तह सञ्चालन ऐन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नीति तथा नियम आफैँ बनाएर कार्यान्वयन गर्न सफल भएकोप्रति खुशी व्यक्त गरिन् । नगरपालिकाले लागू गरेको ऐन तथा नियमावली जनचाहनाविपरीत रहेको खण्डमा परिमार्जन गर्न पनि आग्रह गरिन् ।

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक कार्यविधि सम्बन्धी ऐन ०७६, शिक्षा ऐन ०७५, कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन २०७५, सहकारी ऐन २०७५, न्यायिक समितिको कार्यविधिसम्बन्धी ऐन २०७५ र प्रशासकीय कार्यविधिसम्बन्धी ऐन २०७५ पारित गरेको छ ।रासस

Logo