भक्तपुर ।
भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ ।
चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा खाद्यान्नको आयात रोकिने भयले खाद्यान्नको माग ह्वात्त बढेपछि अहिले भक्तपुरको बजारमा नुन, चिनी र ग्यासको अभाव भएको छ भने अन्य खाद्यान्नमा व्यापारीले मनोमानी मूल्य असुल्न थालेका छन् ।
भक्तपुरमा कालोबजारी नियन्त्रण गर्ने गरी सोमबारसम्म जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । भक्तपुरको बजारमा मास्क, स्यानेटाइजर, चिनी, नुन र ग्यास नपाएपछि उपभोक्ता यसका लागि भौतारिएका छन् ।
भक्तपुरको जगातीदेखि नुन र चिनी लिनका लागि मध्यपुरथिमि राधेराधेको भाटभटेनी सुपरमार्केटमा आएकी रमिता श्रेष्ठले यहाँ पनि नुन र चिनी नपाएको बताइन् । “भक्तपुरको मुख्यमुख्य बजारमा तीन दिन गइसकें, नुन, चिनी र ग्यास पाइँन ”, उनले भनिन् “भाटभटेनीमा पाइन्छ भनेर आको, यहाँ पनि एक सातादेखि सिद्धिएको छ आएको छैन भन्छन्, समस्या पो पर्ने हो ।”
भाटभटेनी सुपरमार्केटमा मात्रै नभई विभिन्न खाद्य पसल सञ्चालकलाई यतिखेर भ्याइनभ्याइ छ । न्यू खाद्य स्टोरका सञ्चालक प्रवीण श्रेष्ठले केही दिन यता चामल, दाल, गेँडागुडीमा केही प्रतिशत मूल्यवृद्धि भएको बताए ।
उनले भने, “बजारमा खाद्यान्नको माग एकदमै बढ्यो, पुराना स्टक सामान सकियो, नयाँ सामान ल्याउँदा होलसोलमै मूल्य बढ्यो अनि हामीले पनि बढाउन बाध्य भयौँ ।” दालमा प्रतिकिलो १० देखि २५ सम्म मूल्यवृद्धि भएको बताउँदै उनले नुन र चिनी आफ्ना नियमित आउने ग्राहकलाई पनि दिन नसकेको बताए ।
मध्यपुरथिमि कौशल्टार मिनीमार्टका सञ्चालक पवन थापाले नुन र चिनी बजारमा कतै पनि नभएको बताए । उनले भने, “हामीले सामान ल्याउने डिलरले नै नुन र चिनी पठाएको छैन, चिनी किलोको १०० रुपैयाँ दिन्छु भने पनि छैन, ग्यास त झन अभाव छ ।” विशेष गरी रेष्टुराँ, होटल र ठूला औद्योगिक कार्यालयले महँगो रकम तिरेर धेरै सङ्ख्यामा ग्यास लैजाँदा उपभोक्ताले अभाव झेल्नु परेको ग्यास व्यापारी बताउँछन् ।
बजारमा नुन, चिनी र ग्यास नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बजारमा कालोबजारी बढेको र सामानको अभाव सिर्जना भएको गुनासो सुनेको बताउँदै बजार अनुगमनको तयारी भइरहेको जानकारी दिइन् ।रासस





























प्रतिक्रिया