काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । यसले अन्तराष्ट्रिय सुन बजारदेखि नेपाली बजारमा समेत प्रभाव पारेको छ ।
अन्तराष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा दैनिक जसो सुनको मुल्य बृद्धि भई नयाँ रकर्ड राख्ने गरेको छ । यसरी सक्कली सुनको मुल्य बढ्दा यसको प्रभाव नक्कली सुनको कारोबारमा परेको छ ।
यसरी दैनिक जसो सुनको मूल्य बढ्दै गएकाले सक्कली सुनमा भन्दा मानिसहरुको ध्यान नक्कली सुनमा परेकाले सक्कली सुनको भन्दा नक्कली सुनको कारोबार उच्च हुन पुगेको छ । किनकि सुनको मुल्य बढेर ८२ हजार ७ सय पुगेकाले बजारमा सुनको कारोबार ठप्प जस्तै छ । यता ग्राहकहरुले सस्तो मुल्यका नक्कली गहना रोजाइमा परेको छ ।
यो माघ फागुन महिना नेपालमा विवाहको मौसम भएकाले सुनको कारोबार दैनिक ५० देखि ६० केजी खपत हुने गरेकोमा अहिले दिनमा १० किलो पनि खपत हुन छाडेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
नेपाली बजारमा एक महिनादेखि सुनको मूल्य बृद्धि हुँदै आएको छ । आज मात्रै सुुनको मूल्य २ सय रुपैयाँले बढेर ८२ हजार ७ सय रुपैयाँ पुुगेको छ । यसरी दैनिक जसो सुुनको मूल्य बढ्दै जाँदा बजारमा नक्कली गरगहनाको बिक्री बढेको काठमाडौं सुनधारामा नक्कली गहनाको कारोबार गर्दै आएकी सुस्मिता भण्डारीले बताइन्।
उनका अनुसार पहिला पहिला दैनिक दुई÷चार वटा गहना बेच्न कठिन हुन्थो तर सुनको मुल्य अत्याधिक बढेकाले अहिले व्यापार एक्कासी बढेको छ । उनले भनिन् ‘बजारमा नक्कली सुुनका गरगहना बेच्ने पसलमा यतिबेला ग्राहकको भिडभाड धेरै नै देखिन थालेको छ । त्यसैले नक्कली सुुनका गरगहनाको व्यापारमा बृद्धि भएको छ ।’
अहिले सुनको मूल्य बढ्दा नक्कली सुनको कारोबार बढेकाले आफू सन्तुष्ट रहेको र व्यवसायमा लागे देखि व्यापार बृद्धि भएको अहिले नै रहेको उनको भनाइ थियो ।
अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका नक्कली गरगहना पसलमा गहना किन्ने महिलाको लर्को देखिन थालेको छ । ललितपुरको ग्वार्कोको एक नक्कली गहना पसल नक्कली गहना किन्दै गरेकी गिता भुजेलले अब नेपालमा हामी जस्ता सर्वसाधरणले सुन किन्न नसकिने भएकाले नक्कली किन्न लागेका र मध्यमवर्गीय नेपालीको पहुँचबाट सुन टाढा हुुन थालेको बताइन ।
पछिल्लो समय कोरोना भाइरसको सन्त्रासले बजारमा बढिरहने महंगीका कारण दैनिक दुई छाक टार्न नै मुुश्किल परिरहेको बेला सिमित आम्दानीबाट बचत गरेको पैसाले महंगो सुुन किन्न नसकिने भुजेलको भनाइ छ ।
त्यस्तै, गीतासँगै आएकी गहना किन्न आएकी देवकी खड्काको भनाइ पनि उस्तै छ । उनले पनि सक्कली सुुन महंगो भएकाले नक्कली सुुन पनि सक्कलीभन्दा कम नभएको र हराएमा पनि डर नभएकाले आफूहरु नक्कली सुनका गहना किन्न आएको बताइन् ।
सुनको मुल्यसँगै नक्कलीको पनि मुल्य बढेको ग्राहकको गुनासो बजारमा सुनको मूल्यको प्रभावले नक्कली सुनको कारोबार बढेसँगै बजारमा पहिलेको भन्दा नक्कली सुनको पनि मुल्य बढेको ग्राहकरुले गुनासो गरेका छन् । ग्राहकहरुका अनुसार बजारमा सुनको मूल्य बढेसँगै नक्कलीको पनि मूल्य बढेको छ । पहिलाको मूल्यमा गहना नपाइएको समेत उनीहरू बताउँछन् ।
नेपालमा सुनको मूल्य निर्धारण अन्तराष्ट्रिय बजार तथा भारतीय बजारको आधारमा हुने गरेको छ । विश्वमा घट्ने घटनाले सुनको मुल्यमा प्रभाव पर्ने हुन्छ र सुनको मुल्य बढ्ने गर्दछ । पछिल्लो समय ६ महिना अगाडि अमेरिका र चीनबीच व्यापारिक युद्ध हुदाँ नेपालमा सुनको मूल्य बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि मंसिर बेलामा फेरि अमेरिका र इरानबीच द्धन्द्ध हुदाँ फेरि सुनको मुल्य बढेर नेपालमा ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि सामान्य अवस्थामा रहेको सुनको मूल्य चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि देनिक जसो उच्च रुपमा मुल्य बृद्धि हुदै आएको छ ।





























प्रतिक्रिया