काठमाडौं । काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा बन्न लागेको २२ तले भ्युटावर निर्माण कम्पनीका ठेकेदार मनोज भेटवालले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।
भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले खोजी रहेको बेला मङगलबार बिहान आफैं प्रहरी परिसरमा उपस्थित भएको टेकु प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
उनका अनुसार भेटवाललाई उच्च अदालत, पाटनले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल लुकेर बसेका थिए । उनले भने‘ प्रहरीले खोजी रहेको बेला प्रहरी परिसरमा उपस्थित भएका छन । अहिले हिरातमा राखेर अनुसन्धान भइरहेको छ ।’ भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चन्द्र तामाङले किटानी जोहरी गरेका थिए ।
भेटवाल यस अघि पनि एपेक्स डेभल्पमेन्ट बैंकमा भएको डेढ अर्ब घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । उनी ‘क’ वर्गका ठेकदार हुन् । उनले काठमाडौं महानगरका कर्मचारीसँग राम्रो सम्बन्ध भएकाले २२ तले भ्यु टावर निर्माणको जिम्मा पनि हात पारेका थिए । २०७१ फागनु २२ गते तीन वर्ष भित्र टावरको निर्माण सम्पन्न गर्ने गरी महानगर र जेलेश्वर स्वच्छन्द बिकोई कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताको ८ महिनापछि ०७३ बैशाख २२ गते पुरानो बसपार्कलाई खुलामञ्चमा सारेर निर्माणस्थल खाली गराइएको थियो ।
अहिले सम्झौता भएको ६ वर्ष पूरा भएको छ तर पनि भ्यू टावर निर्माणको काम १ प्रतिशत पनि भएको छैन । टावर निर्माणमा अण्डर ग्राउण्डमा पिल्लर राख्ने कामसमेत सकिएको छैन । निर्माणस्थलमा प्रयोग हुने निर्माण सामाग्री तथा ठूला–ठूला उपकरण भने थुपारेर राखिएको छ ।
महानगरको करिव ७ अर्ब रुपैयाँको लागतमा २३ रोपनी क्षेत्रफलमा २९ तले भ्यु टावर निर्माण गर्ने योजना ल्याएको थियो । भूकम्पपछि महानगरले नै शहरी क्षेत्रमा १२ तलेभन्दा माथि टावर निर्माण गर्न नपाउने व्यवस्था ल्याएपछि १२ तलाको भन्दा माथि नक्सा पास हुन सकेको छैन ।
महानगरले सम्झौता अनुसार समय बाँकी रहेकाले अहिले मौन बसेको र समय अवधि सकिएपछि आफ्नो कदम चाल्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । टावर निर्माणपछि ठेकेदार कम्पनीलाई महानगरपालिकाले वार्षिक २ करोड ७० लाख रुपैयाँ भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको थियो । टावर निर्माण प्रक्रिया सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा २९ तले टावर बनाउने बताउदै आएको छ ।
यसरी लिएका थिए भेटुवालले भ्यू टावरको ठेक्का
महानगरपालिका सीमित व्यक्तिको फाइदाको लागि मात्र पुरानो बसपार्कमा भ्यु टावर बनाउने योजना अगाडी बनाएका थिए । जुन योजना महानगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा नै भेटुवालले ठेक्का पाएको जानकारहरुले बताउदै आएका छन् ।
विवादै विवादमा फसेका ठेकेदारलाई टावर निर्माण ठेक्का दिएकाले निर्माण सुरु गर्नु भन्दा अघिदेखि विवादित बन्दै गएको थियो । र, जलेश्वर स्वच्छन्द बिकाई कम्पनीलाई ठेक्का दिइयो । कम्पनीले ठेक्का सम्झौता गरेको ६ वर्ष पछि पनि निर्माण सम्पन्न नगरेकोमा यसको जिम्मा कसले लिने ? महानगरले की ठेकेदार कम्पनीले यस्ता प्रश्न बारम्बार आउन थालेका छन् ।
यता महानगरका कुनै पनि कर्मचारीदेखि जनप्रतिनिधिहरु समेत यस विषयमा अनविज्ञ रेहेको बताउँदै आएका छन् । महानगरसँग अहिले सम्म भ्यु टावर निर्माण गर्न सम्झौता गरेको कुनै पनि प्रमाण नभेटिएको बताउदै आएको छ ।
खुल्ला मञ्च कब्जा गर्दा विवादीत
भ्यु टावर निर्माण गर्नको लागि बसपार्कमा काम सुरु गर्दा २०७१ सालमा ३ बर्ष भित्र निर्माण सक्ने सम्झौतासहित केही समयका लागि बसपार्क पार्किङ गर्न काठमाडौं महानगरले अनुमति दिएकोे थियो । तर भ्यू टावरका ठेकेदार भेटवालले खुल्लामञ्च कब्जा नै गरेर व्यापारीक टहरा बनाएर खुलामञ्च नै लाखौं रुपैयाँ लिएर बिक्री गरेका थिए ।
भेटवालले यत्रो तहल्का मच्चाउँदा समेत महानगर देखेको नदेखेको जस्तै गरेर बसेको थियो । पछि सर्वसाधरणले ठूलै आवाज उठाएपछि महानगरले भेटवालले बनाएका ठूलाठूला व्यापारीक टहरा भत्काएको थियो । तर, यसरी भेटवालको कर्तुतबारे पर्दाफास भएपछि केही हच्केको महानगरले भेटवाललाई अहिलेसम्म पनि कारबाही गर्न भने सकेको छैन ।
ठेकेदार भेटवालले राणाकालमा समेत हलचल गर्न नसकेको खुल्ला मञ्च उनले आफ्नो मनोमानी अनुसार व्यापारीहरुसँग ५ करोड रुपैयाँ अग्रिम भुक्तानी गरी खुल्लामञ्चमा सटर बनाएर बेचेका थिए ।































प्रतिक्रिया