नागढुंगा सुरुङ : सेनाको विस्फोटक पदार्थ हाजमाद्वारा अस्वीकार

नागढुंगा सुरुङ : सेनाको विस्फोटक पदार्थ हाजमाद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो।

विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाएपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभागलगायत परामर्शदाता (निप्पोन कोई लगायत) लाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ।

‘विस्फोटक पदार्थ आयात सम्बन्धी नेपाल सरकार, सडक विभाग र नेपाली सेनासँग पटकपटक पत्राचार र बैठक भए’, पत्रमा छ, ‘यो पत्र लेखिरहँदा सेनाबाट सहमति प्राप्त हुनेमा अनिश्चितता रहँदारहँदै पनि हाम्रो कम्पनीको व्यावसायिक चासोलाई जोडदार महत्व दिन्छौं।’

नेपालमै उत्पादित विस्फोटक पदार्थ उपयोगका लागि नेपाली सेनाले गरेको आग्रह महत्वपूर्ण नभएको हाजमाको दाबी छ। पत्रमा जनवरी २० का दिन भएको बैठक (सेनासहित) का क्रममा उठेका चासोलाई दोहोर्‍याइएको छ।

‘सुरुङमा ड्रिल र ब्लास्ट (विस्फोट) इन्जिनियरिङ विधाको सबैभन्दा खतरनाक गतिविधि हो, जुन ढुंगा फोर्दा गरिएको विस्फोटबाट उत्पन्न हुने धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पारी जीवनमै जोखिममा पारिदिन्छ,’ पत्रमा छ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ उपयोग गरेको कुनै अभिलेख वा डाटा उपलब्ध भएको प्रमाण नभेटिएकाले हाजमा आयोजनाको समय–सीमालाई मध्यनजर गर्दै विस्फोटक पदार्थ आयातका लागि विचार गर्न बाध्य भएको पत्रमा जनाइएको छ।अन्नपूर्णबाट

Logo