चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव : छायांकन रोक्न निर्माता संघको आग्रह

चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव : छायांकन रोक्न निर्माता संघको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वका अधिकांश देशहरुमा माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पनि प्रभाव पार्ने देखिएकाले सर्तकता अपनाउन थालिएको छ ।

दर्शकहरुको भीडभाड धेरै हुने भएकाले सिनेमा हलमा स्यानिटाइजरदेखि ह्यान्ड वाससम्मको व्यवस्था गरिएको छ । नेपालमा हालसम्म कोहीमा पनि कोरोना भाइरस नदेखिएकोले सिनेमा हल जाँदा डराइहाल्नु पर्ने स्थिति नरहेको हल सञ्चालकहरु बताउँछन् । यसैबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।

निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणका लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेका चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्नो चलचित्रको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’

अहिले सीमित फिल्मको मात्र छायांकन भइरहेको छ । गतवर्षको तुलनामा यसवर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर -४’,‘परदेशी -२’ लगायतका केही फिल्मको मात्र छायांकन भइरहेको छ । चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत फिल्मका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ । नेपालमा मात्र नभई विश्वकै फिल्म बजारमा कोरोनाको प्रभाव पर्न थालेको छ ।

हलिउडमा हेर्ने हो भने अप्रिलमा प्रदर्शन हुने भनिएको फिल्म ‘नो टाइम टु डाइ’ले फिल्मको प्रदर्शन मिति सारेर सात महिनापछि पुर्‍याएको छ । त्यस्तै बलिउडमा पनि कोरोनाकै जोखिमले गर्दा सलमान खान अभिनित फिल्म ‘राधे’को थाइल्याण्ड सुटिङ रद्द गरिएको छ । नेपालमा हालसम्म डरलाग्दो किसिमले कोरोनाको संक्रमण देखिएको छैन । तैपनि नायक पल शाह र नायिका पुजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु’ लगायत केहि नेपाली चलचित्रहरुको प्रदर्शन मितिमा परिवर्तन आउन सक्ने बुझिएको छ ।

Logo