योगदान गर्ने व्यक्ति सम्मानित हुनुपर्छ : गृहमन्त्री थापा

योगदान गर्ने व्यक्ति सम्मानित हुनुपर्छ : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्तिनै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको विभूषण सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बुधबार विगतमा वास्तविक व्यक्ति राज्यबाट सम्मान हुन नपाउँदा कयौँ उपाधि र विभूषण बहिष्कार वा अस्वीकार गर्ने घटना देखिएका औँल्याए।

उनले भने, “मुलुकमा योगदान पु¥याउने सच्चा व्यक्ति राज्यबाट सम्मान हुनुपर्छ भनी विधेयक अघि बढाएका हौं, विभूषण सम्बन्धी ऐन सच्चाउने र परिमार्जन गर्नुपर्ने भएकाले विधेयक आएको हो, उपाधि वा विभूषणको उचित सम्मान होस् भन्ने हामी चाहान्छौं ।” राज्यमा तीन तहको सरकार रहेकाले समाजमा योगदान गर्ने व्यक्तिप्रति उपाधि र सम्मान झन बढ्दै जाने थापाले बताए ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने नेपाली वा विदेशी व्यक्तिका अलावा यस्ता क्षेत्रमा काम गर्ने संस्था र सङ्गठनलाई पनि सम्मान र उपाधि प्रधान गर्नु जरुरी रहेको उनले जानकारी गराए । उनले भने “राज्यले प्रधान गर्ने उपाधि र विभूषणलाई वृद्धि विकासको आधार कसैले पनि बनाउनु हुँदैन, विगतमा भएको पदअनुसार विभूषण वा पदक दिने तरिका हालको विधेयकमा सच्चाइएको छ ।”

विभूषणलाई तिरस्कार गर्ने व्यक्तिलाई कानूनले के गर्ने भन्ने कुरा कानूनमा उल्लेख हुन जरुरी रहेको गृहमन्त्री थापाको भनाइ थियो । विभूषणको मूल्य लिएर धातु फिर्ता लिने परम्परा विधेयकबाट हटाउनुपर्ने उनको भनाइ थियो ।

Logo