काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नु पर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन् ।
कोरोना भाइरसले पर्यटन उद्योगमा पार्न सक्ने असर र चाल्नु पर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराइले उक्त निर्देशन दिदैं उनले कुनै नीतिगत निर्णय गर्नु परे मन्त्रालयमा लेखि पठाउन समेत निर्देशन दिए । आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने मन्त्री भट्टराइले बताए ।
मन्त्री भट्टराइले पर्यटन क्षेत्रसँग आवद्ध सबै संघसंस्था तथा विज्ञहरुलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गरे । साथै, विमानस्थलहरुमा यस बारे सजगता बढाइएको जानकारी गराउँदै मन्त्री भट्टराइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकहरुको धेरै आवात जावत हुने काठमाडौं बाहिरका विमानस्थलहरुमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हेल्थ डेस्क राख्ने प्रकृया पनि अघि बढाइएको बताए ।
अभिभावकका रुपमा राज्य भएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसायहरु संचालन गर्न पनि उनले पर्यटन व्यवसायीहरुसँग आग्रह गरे । यो अवस्थामा प्रशस्त, सुचना लिने, विश्लेषण गर्ने र संयमताका साथ निर्णयलिने मन्त्री भट्टराइको भनाई थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबाबु अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारीप्रमुख डा. धनन्जय रेग्मी, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बायुसेवा संचालक संघ, होटल संघ, टान, नाट्टा, हान लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराएका थिए ।





























प्रतिक्रिया