पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा मंगलबार आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए।

नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताए । उनले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्ने बताए ।

“पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन”, वरिष्ठ नेता पौडेलले भने, “पार्टी जोगाउन पूर्वाग्रह नराखी सहमति गर्न म सबैलाई आग्रह गर्दछु ।” उनले पार्टीलाई जनताको भरोसाको पार्टी बनाउन नेतृत्व तह लाग्नुपर्नेमा जोड दिए। समारोहमा नेता पौडेलले समाजसेवी एवं पूर्वराजदूत गोपालप्रसाद शर्मालाई सम्मान गरे ।

नेपाली काँग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधान अनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राखेका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य महेश आचार्यले पिताजी कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गर्नुभएको स्मरण गरे।

अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधान सम्मत हिड्न नेतृत्वलाई आग्रह गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनैतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व कोइरालाले आफ्नो जीवन सपर्मण गरेका स्मरण गरे ।

परिषद्का अध्यक्ष अशोक कोइराला, नेका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सम्मानित व्यक्तित्व शर्मा र दधिराज सुवेदीले शिक्षाको विकास र प्रजातन्त्र स्थापनका स्व कोइरालाले खेल्नुभएको भूमिकाबारेमा चर्चा गरे ।रासस

Logo