काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषय भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडी गम्भिर नियत लुकेको बताए । उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । ‘हप्ता दिन पुग्दा पनि छानबिन नहुनुको पछाडी गम्भिर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने ।
छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिए भने तपाईंको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे ।
सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बौं भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीलाई १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे ।
उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए । उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे ।
सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्ेलख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गराए । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाको भनाई थियो । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहन पनि देउवाले आग्रह गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन् । संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता र विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित थिए ।































प्रतिक्रिया