चार वर्षयता ममाथि षड्यन्त्र भइरहेकाे छ- शेरधन राई (वक्तव्यसहित)

चार वर्षयता ममाथि षड्यन्त्र भइरहेकाे छ- शेरधन राई (वक्तव्यसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एउटा गिरोह २०७२ सालदेखि आफूविरुद्ध सकृय रहेकाे बताएका छन् ।

शनिबार प्रेस सङ्‌गठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नाे जीवनमा खाेट लगाउने कुनै ठाउँ नभएकाे दावी गरेका छन् ।

मुख्यमन्त्री राईले विगत ४ वर्षदेखि षड्‌यन्त्र भइरहे पनि आफू मौन रहेको र अब दूधको दूध, पानीको पानी छुट्टिने बेला आएकोले पहिलो पटक औपचारिक रुपमा आफ्नोबारेमा बाेल्न बाध्य भएकाे बताएका हुन् ।

मुख्यमन्त्री राईकाे वक्तव्य

एउटा मसँग सम्बन्धित प्रसँगकाे बारेमा मैले बोल्ने बेला बल्ल आयो। मविरुद्ध २०७२ सालदेखि एउटा षड्‌यन्त्र सुरु भएको छ। म सञ्चारमन्त्री भएको २/३ महिना पछाडिबाट त्यो षडयन्त्र सुरु भयो। र मविरुद्ध विभिन्न ठाउँमा बैठक बसे। एउटा गिरोह सक्रिय त्यसमा भयो। केही पात्रहरूको खोजी गरियो। पात्रहरूको खरिद गरियो। र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो।

हिजोमात्र एउटा कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइराखेको छ। ७२ सालदेखि लगातार मौसमअनुसार सामाजिक सञ्जाल र केही सानामसिना अनलाइनहरूमा केही कुराहरू मेरा प्रसङ्‌गमा आइराखेका छन्। आजसम्म मैले यो प्रसङ्‌गमा बोलेको थिइनँ। किनभने, मेरो कुनै दोष छैन, मेरो कमजोरी छैन। जुन पात्रको कुरा छ, त्यो पात्रसँग मेरो कहिल्यै चिनजान भएको छैन। बोलचाल भएको पनि छैन। संवाद कहिल्यै दोहोरो भएको छैन।

म सञ्चारमन्त्री भएको तीन महिनापछि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ, त्यो म्योसज एउटा, दुईटा होइन, ५० औं, १००औंको सङ्‌ख्यामा आउँछ। भोलिपल्ट पनि आउँछ। म एउटा म्यासेज प्राप्त भएको नम्बरमा कल गर्छु र चिन्ने प्रयत्न गर्छु, नामसम्म थाहा हुन्छ। त्यसपछि मैले फोन राख्छु र लगातार म्यासेज आयो। त्यसपछि मैले ती म्यासेजहरूलाई जस्ताको तस्तै मोबाइलमा राखेर मैले सञ्चारमन्त्रीको हैसियतमा, सरकारको प्रवक्ताको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाएँ। उहाँ पनि अचम्मित हुनुभयो।

ती म्यासेज र मलाई ‘ह्यारेस’ गर्ने काम राेकिँदैन। त्यसपश्चात जब सरकारबाट हामी बाहिरियौँ मैले ७ पेजको म्यासेज प्रिन्टआउट गरेर ती पात्रले प्रयोग गरेका मेरो मोबाइलमा पठाएका ६ वटा नम्बरका म्यासेजहरू प्रिन्टआउट गरेर त्यो गिरोहको एउटा नाइके जसको नाम किटानी गरेर पार्टीमा एउटा एजेन्डा दर्ज गरे पोलिट्ब्युरो बैठकमा। भीम कमरेड यही हुनुहुन्छ, ईश्वर कमरेड हिँडिसक्नुभयो, जगन्नाथ कमरेड यही हुनुहुन्छ। र, मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर दर्ज गरेर पार्टीको पोलिट्ब्युरो बैठकमा दुई घण्टा छलफल भयो।

पार्टी पोलिट्ब्युरो बैठकमा ती पात्र गलत हुन् भन्ने निश्कर्ष निस्कियो। त्यसो हो भने एउटा छानबिन समिति गठन गरेर त्यस गिरोह, त्यस अपराधमा जसले मेरो व्यक्तिगत र राजनीतिक जीवनलाई समाप्त गर्नका लागि करोडौं पैसा खर्च गरेर क्रियाशील छ, सक्रिय छ, त्यो गिरोहलाई बाहिर ल्याउने हिसाबबाट एउटा छानबिन समिति बनोस्/बनाइयोस् भनेर मैले आग्रह गरे। अध्यक्षले स्थायी कमिटीबाट पछि निर्णय लिने निश्कर्ष सुनाउनुभयो। बैठक सकियो।

मैले पार्टी अध्यक्षसँग अनुमति मागेर ७ पेज म्यासेज, ६ वटा नम्बरसहित सिआइबीमा आवश्यक अनुसन्धानका निम्ति निवेदन दिए। यसले प्रारम्भिक सम्बन्धित मान्छेमाथि अनुसन्धान गर्‍यो, कि यी मान्छे स्वाभाविक मनस्थितिमा छैनन्। त्यसो हुँदा अहिले कारबाही अगाडि नबढाऊँ, हामी अध्ययन गर्छौं, अनुसन्धान गर्छौं भन्ने कुरा त्यसबेलाका डिआइजी, अहिलेका प्रतिनिधिसभामा माननीय नवराज सिलवालले जवाफ दिनुभयो।

मैले आजका मितिसम्म कुनै, कहीँकतै प्रतिक्रिया दिएको थिइनँ। तर, लगातार ममाथि यस प्रकारको बहस, षड्‌यन्त्र, यसप्रकारको गिरोह, के कारणले हो मलाई थाहा छैन। म सबैलाई भन्नसक्छु शीर ठाडो पारेर कि, म भुइँबाट आएको मान्छे हो, विकट ठाउँमा जन्मेको मान्छे हो, भुइँबाट आएको मान्छे, कम्युनिस्ट पार्टीको सदस्यता लिएर जिम्मेवारी लिएको, जे जिम्मा पायो, पाएको जिम्मा राम्रो फत्ते गर्दै त्यो ठाउँमा आएको मान्छे हो। म कसैको चाकडी गरेर आएको होइन। कसैको आशीर्वाद पाएर आएको होइन। म मिडियाबाजी गरेर, प्रचारबाजी गरेर, अनेक थोकको साहारा लिएर आएको मान्छे होइन। मेरो जीन्दगी शतप्रतिशत पारदर्शी छ। म चुनौती दिन चाहन्छु सबैलाई आर्थिक र नैतिक मामलामा आजका मितिसम्म कसैले पनि खोट लगाउनसक्ने ठाउँ राखेको छैन। म यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु।

त्यसैले मैले अहिले यसका बारेमा बोल्ने एउटा समयको पर्खाइमा थिएँ भनेर अघि मैले भनें। किनभने, मलाई यसका बारेमा पुलिसले नबोल्न, कुनै प्रतिक्रिया नदिन, यसको कुनै अर्थनै छैन भनेर पनि भन्यो। पार्टीले पनि भन्यो। तर, आज बोल्नुपर्ने खण्ड ठ्याक्कै आयो। र अब दूधको दूध, पानीको पानी छुट्टिने समय आयो। यो छुट्टिन्छ केही दिनमा। तपाईंले थाहा पाउनुहुनेछ। यहाँलाई कुनै भ्रम नहोस् कि यो कहीँ चुकेको थियो कि? यसले कहीँकतै गल्ती गरेको थियो कि? यस्तो भ्रम नहोस्।

यो मामलामा मिडिया दुरुपयोग भएका छन्। मिडिया किनिएका छन्। यसको खोजी गरिदिनुहुन आग्रह गर्न चाहन्छु। तपाईं आधा घण्टामा पत्ता लगाउन सक्नुहुन्छ। पात्रहरू को-को हुन्? यो खेतीमा लाग्नेहरू कुन अनलाइन हुन्? धेरै समय लाग्दैन, १५/२० मिनेटमा पत्ता लगाउन सक्नुहुन्छ। यो धन्दामा सामेल मान्छेहरू को-को हुन्? भन्ने मान्छे पनि तपाईंहरू पत्ता लगाउन सक्नुहुन्छ। मैले पार्टीमा नामै तोकेर दिएको छु। कतिपय पात्रहरूको नाम त्यो बेलामा राखिनँ होला। तर, मूल मान्छेको नाम किटानीका साथ राखेको छु। सायद विश्व कम्युनिस्ट आन्दोलनमा ममाथि जुन खालको षड्‌यन्त्र भयो, त्यस्तो षड्‌यन्त्र कम्युनिस्ट पार्टीमा अहिलेसम्म भएको छैन, अब हुँदैन पनि होला।

चुनावका बेला ममाथि १० वटा गोली र एउटा बम प्रहार गरियो। त्यो तर्साउनका लागि होइन, ठाउँका ठाउँ सिध्याउनका निम्ति ममाथि आक्रमण भएको थियो। बरु त्यो घटनालाई पनि यो षड्‌यन्त्रसँग जोडेर मैले पार्टी नेतृत्वको ध्यान आकृष्ट गरेको छु। यसरी वास्तविकता यो हो। तथ्य यही हो।  मैले बाेल्न बाध्य भएर मेराे कुरा राखे कुनै भ्रम नहाेस् । यहाँ हनेक प्रसंग तथा घटनाहरू आइरहेका छन् ।  तर कुनै पनि भ्रमहरू नराख्नकाे निम्ति म आग्रह राखन चाहन्छु । मबाट हिजोसम्म नेपाली जनताकाे शिर निहुरने गरी गल्ति भएकाे छैन । आज र भाेली पनि हुँदैन । म जनता र देशकाे लागि नैतिक रुपमा प्रतिबद्ध भएर लागेकाे एउटा सिपाही हुँ । त्यसैले यसता षड्यन्त्रकाे पर्दाफास कसरी गर्न सकिन्छ त्यसमा सहयोग गर्न म अपिल गर्छु ।  धन्यवाद

 

 

Logo