काठमाडौं ।
पछिल्लो समय सामाजिक संजालदेखि नेपाली संगीतकर्मीहरुबीच गायक प्रमोद खरेल र बिन्ध्यबासिनी म्युजिक कम्पनिबीचको आन्तरिक द्वन्द्वले स्थान पाएको छ । विन्ध्यवासिनी म्युजिक कम्पनीले आफूले उत्पादन गरेको गीतसंगीत गायक प्रमोद खरेलले विना अनुमति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा गाइरहेको आरोपसहित एक करोड क्षतिपूर्ति पनि दाबी गरि कम्पनी रजिस्टारको कार्यालयमा उजुरी दिएपछि उत्पन्न यस विवादले हाल संगितकर्मीहरुलाई अन्यौलमा पारिदिएको छ । विवादको विषयमा सबैले आआफ्नै विश्लेषण दिईरहेका छन् । यसै सन्दर्भमा वास्तविक कुरा के हो र विवाद कसरी सिर्जना भयो भनि हामीले बिन्ध्यबासिनी म्युजिक कम्पनिका संचालक सुवास रेग्मीसँग कुराकानी गरेका छौँ ।
१. तपाईँ बिन्ध्यबासिनी म्युजिक कम्पनिका संचालक भएको हिसाबमा बास्तविकता तपाईँबाट सुन्न चाहान्छौँ । विस्तृत रुपमा भनिदिनुस् न ।
–वास्तवमा यो हुल्लडबाज हो । नेपालमा कानुन, नियम, ऐनका विषयहरु हुल देखाएपछि आफू अनुकुल व्याख्या हुन्छन् भन्ने संकिर्ण सोँचहरुको उपज हो । प्रतिलिपी अधिकार ऐन २०५९ को परिच्छेद ४ को दफा १६ मा प्रस्तोताले उत्पादकको, निर्माताको, संगीतकारको गीतकारको प्रतिलिपी अधिकारको ठाडै उल्लंघन गर्न पाईन्छ भनेर लेखिएको छैन । ध्वनि अंकन सम्वन्धि महासन्धिको धारा ३ मा उत्पादक कम्पनी, लगानीकर्ताको विशेष अधिकार अनुसार कसैको लगानीबाट बनेको म्युजिक ट्रर्याकलाई गायकले उनीहरुको अनुमतिबिना प्रयोग गर्न पाउँदैनन् । मैले लगानी गरेको गीतको ट्रर्याक बोकेर मेरो अनुमति बिना प्रमोद खरेल ११ वर्षसम्म विश्वभरी गाएर हिँडे ।
आज त्यही गीतहरु गाएर उनी करोडौँको घरमा बस्छन्, लाखौँको गाडी चढ्छन्, आफ्नो लाईफ स्ट्याण्डर्ड तरिका जिउँछन् । प्रमोद खरेलको स्वरमा मैले रेकर्ड गरेका र गराएका ५० भन्दा बढी गीतहरुको म्युजिक ट्रर्याक उनले वर्षौँदेखि प्रयोग गरेर करोडौँ कमाए। तर त्यसबापत न त उनले सरकारलाई ट्याक्स तिरे, न त ध्वनि अंकनसँग सम्बन्धित निर्माता, संगीतकार, गीतकार, उत्पादकलाई २ रुपैयाँ दिए । त्यसैले प्रमोद खरेलसँगको अहिलेको विवाद भनेको प्रतिलिपी अधिकार ऐनमा प्रस्तोता बाहेक अरु पक्षहरुको अधिकार पनि सुनिश्चित हुनुपर्छ भन्ने सम्बन्धमा हो ।
२. प्रमोद जीले ५ वर्षसम्मका लागि मात्र सम्झौता गरिएको, गीतहरुको निर्माता कुनै कम्पनी नभई आफैँ भएको दाबी गर्नुभएको छ । यसमा तपाईँ के भन्नुहुन्छ ?
– प्रतिलिपी अधिकार ऐन २०५९ को परिच्छेद ५ को दफा २४ को उपदफा ३ मा प्रतिलिपी अधिकार धनिबाट अधिकार हस्तान्तरण गरि लिने व्यक्तिले त्यसरी हस्तान्तरण गरि लिएको बाहेक अन्य कुनै काम कारबाही गर्न पाउने छैन भनेर उल्लेख गरिएको छ । प्रमोद खरेलले गीतकार, संगीतकारबाट लिखित रुपमा लिएर मलाई हस्तान्तरण गरिसकेपछि त्यो अवधिमा उनले ऐन विपरित काम गर्न पाउँदैनन् । जस अनुसार त्यो ५ वर्षसम्म उसले जहाँ जहाँ गीत गाएर हिँडे त्यसको अनुमति म सँग लिनुपर्थ्याे र जती कमाए त्यसको हर हिसाब मलाई दिनुपर्थ्याे । सोही ऐनको दफा २ को उपदफा १ बमोजिम उत्पादक निर्माताको अधिकार प्रकाशन भएको वर्षबाट ५० वर्षसम्म कायम रहनेछ भनेर स्पष्ट लेखिएको छ । त्यसैले यो ५० वर्षसम्म उक्त गीतहरुमा प्रमोदको जति अधिकार छ मेरो पनि त्यत्तिकै अधिकार छ । बौद्धिक सम्पतिको कारोबार गर्ने, प्रतिलिपी अधिकार सम्बन्धि कारोबार गर्ने अनि पुरानो करार ऐन अनुसारले सम्झौता गरेको छु भनेर हुन्छ ?
३. प्रमोद जीले वार्ता संवाद गर्न चाहँदा चाहँदै तपाईँले सामाजिक संजालमा उहाँको मानहानी हुने स्टाटस लेखेको आरोप लगाउनु भएको छ । वार्ता संवादले पनि सुल्झाउन सकिन्थ्यो होला ।
– उनलाई मैले हिसाब गर्नलाई बिन्ध्यबासिनी म्युजिक प्रा.लिबाट ४ चोटी चिठी पठाईसकेँ । तर उनी किन आएनन् ? ५ वर्षसम्मको सम्झौता थियो भन्ने मान्छे अहिले ११ वर्षपछि किन यो विवाद उठाए ? ५ वर्षपछि यो सम्पती प्रमोदको हुनेछ भनेर लेखेको छैन । त्यसैले यसमा राजनिती छ । आन्दोलन गरे हुन्छ, मुर्दावादको नारा लगाए हुन्छ । ५७ जनाको हस्ताक्षर मात्र होईन १ लाख हस्ताक्षर बनाए हुन्छ । तर उद्दण्ड गरेर ऐन परिवर्तन हुँदैन । हुल्लडबाजले निम्त्याउने भनेको अशान्ति मात्र हो । प्रकृयाकै कुरा गर्ने हो भने पनि प्रमोद खरेल कुनै कानुनी प्रक्रियामा गएका छैनन् । मैले चाहीँ कानुनी प्रक्रिया अनुसार प्रतिलिपी अधिकारको हनन् गर्यो भनेर १ करोड क्षतिपूर्तीको माग दाबी गरेर प्रतिलिपी रजिस्टारको कार्यालयमा उजुरी गरेको हो । प्रतिलिपी रजिस्टारबाट उजुरी प्रहरीकोमा गए अहिले अध्ययन हुँदैछ र सरकारवादी मुद्धा लाग्दैछ प्रमोदलाई । अनि त्यो सरकारवादी मुद्धा आफूलाई नलागोस् भनेर उनले बुद्धिहिन हुल्लडवाजहरुलाई लिएर हिँडिरहेका छन् ।
४. तर प्रमोद जीले त तपाईँमाथि उल्टै हुँदै नभएको कानुनमा टेकेर मलाई १ करोड क्षतिपूर्तीसहित उजुरी हालेको आरोप लगाउनु भएको छ नी ?
– मैले कानुनमा टेकेको छैन भन्न उनी कानुनको व्याख्याता हो र ? यो मेरो दाबी हो र न्याय अदालतले दिलाउने हो । यदि मेरो माग असत्य र प्रमोद सत्य छ भने मेरो माग खारेज हुन्छ, म दण्डित हुन्छु । अदालतले गर्ने कुरा लक्ष्मण शेषले गर्ने हो र ? लक्ष्मण शेष नेपालको संगीत क्षेत्रको प्रधानन्याधिश हो र ? प्रमोद र मेरो व्यक्तिगत व्यापार व्यवसायमा पछि पछि लागेर हिँड्ने ती चिन्दै नचिनेका ५७ जना गायक गायिका हुल्लडबाज होईनन् ? यदि मैले प्रमोदलाई ठगेको थिएँ भने सुवास रेग्मीले मलाई यति ठग्यो भनेर प्रहरीमा उजुरी दिने कि ठूला कुरा गरेर दर्ता नै नभएको उजुरी मिडियामा ल्याउने ? अहिले कोरोनाको कारण कार्यक्रमहरु, रेकर्डिङहरु त्यति छैन । सबै गायकगायिका फुर्सदमा छन् । त्यसैले रमाइलो गर्न यी हुल्लडबाजहरुको नाटक मात्र हो । यहाँ एउटा मात्र होइन पचासौँ गीतहरुको सवाल छ । मैले पनि उनले दुरुपयोग गरेका गीतहरुका स्रष्टाहरुको हस्ताक्षर लिने हो भने सयौँ हस्ताक्षर हुन्छन् ।
५.प्रमोद जीले पनि अधिकार हनन् करार उल्लंघन र प्रतिलिपि अधिकार उल्लंघन विरुद्ध दुईवटा उजुरी हाल्नु भएको छ । अब तपाईँको कदम के रहनेछ ?
– अब कानुनी प्रकृया अनुसार चल्छु । मेरो गल्ती छ भने मैले सजाय पाउनु पर्छ । नत्र कानुनले न्याय दिलाउनु पर्छ । म एक्लो छु भन्दैमा हुल्लडबाजहरुले कानुन बदल्न सक्दैनन् । कानुन भनेको हरेक नागरिकका लागि समान हुन्छ । त्यसैले सत्य तत्थ्य र निष्पक्ष निर्णय हुन्छ भन्नेमा म विश्वस्त छु ।































प्रतिक्रिया