ललितपुर महानगरपालिकाकै आगाडि मेयर चिरीबाबु महर्जनको पुतला जलाइएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत पुल्चोकस्थित मदन स्मारक बिद्यालयको खेल मैदान मासेर पर्खाल लगाएको भन्दै स्थानीयले मंगलबार मेयरको पुतला जलाएका हुन् । उनीहरूले अनधिकृत ढंगको पर्खाल निर्माण बन्द गर्न माग गरेका छन् ।
दरबार टोल विकास संस्थाका तर्फबाट वामदेव ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म विद्यालय हाताभित्रको खुला क्षेत्रमा कुनै संरचना निर्माण नगर्न आदेश दिएको थियो ।
नगरपालिकाले पुल्चोक–पाटन ढोका सडक विस्तार गर्ने नाममा विद्यालयको खेलमैदान भत्काएर नयाँ पर्खाल लगाउन थालेको हो । स्थानीयले महानगरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय ललितपुरलगायतका निकायहरूमा उजुरी समेत दर्ता गरेका छन् ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो चौरलाई ‘सार्वजनिक खुला क्षेत्र’ घोषणा गरेको थियो ।





























प्रतिक्रिया