काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश विश्वलाई दिइनुपर्ने बताएका छन् ।
चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् । आजका मितिसम्म नेपालमा एक जना पनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए ।
नेपाल कोरोनामुक्त घोषणा भएपनि अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको उनले स्पष्ट पारे । उनले चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए । पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने उनले बताए ।
चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनको भनाई थियो । चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उनले बताए । मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि बताए । नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफुले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए ।





























प्रतिक्रिया