काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन् ।
आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिशामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उनले बताएका हुन् ।
७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘विकास निर्माणमा बाधा हाल्ने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गर्ने छौं । ’
संविधान र कानून अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए । वर्तमान सरकारले २ वर्ष पूरा गरेपनि गत वर्षलाई आधारवर्षका रुपमा लिएको उनले बताए । प्रधानमन्त्री ओलीले आधारवर्षलाई टेकेर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाउने बताए ।
उनले नेपालले सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत व्यक्त गरे । ‘हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं ’ उनले भने । समृद्ध नेपाल सुखी नेपालीको धेयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रीत भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उनले बताए ।
प्रधानमन्त्रीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धीको यात्रामा लागेको उल्लेख गर्दै ओलीले सरकारले केही काम सुरु गरेको, केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताए । उनले सरकार विल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालीलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताए । उनले भने ‘एउटा सरकारका ठाउँमा अर्को सरकार बदलिएको जस्तो होइन, एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौं ।’ प्रधानमन्त्री ओलीले छोटो अवधिमा जनताका आकांक्षा र चाहानाहरु पुरा गर्नुपर्ने चुनौति समेत सरकारसामु रहेको बताए । उनले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धि तर्फको यात्रा अगाडि बढाइरहेको अवस्थामा अवरोधहरु देखिने गरेको बताए ।
प्रधानमन्त्रीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन सबै एकजुट हुनुपर्ने बताए । ‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानलाई उत्तरदायि हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य शासन प्रणाली हो ।’ उनले भने । देशलाई संविधान र कानून अनुसार अगाडी बढाउने उल्लेख गर्दै ओलीले देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने प्रतिवद्धता समेत जनाए ।
हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एकसय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाडौंको टुंडिखेल लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईंदैछ ।































प्रतिक्रिया