“मृत्युको मुखबाट उम्किएर आयौं भन्ने आभास भइरहेकाे छ” – आशिष पौडेल, चीनबाट ल्याइएका नेपाली

“मृत्युको मुखबाट उम्किएर आयौं भन्ने आभास भइरहेकाे छ” – आशिष पौडेल, चीनबाट ल्याइएका नेपाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे–८ का २४ वर्षीय आशिष पौडेल चार वर्षअघि छात्रवृत्तिमा वुहान विश्वविद्यालयमा सिभिल इन्जिनियररिङ अध्ययनका लागि पुगेका थिए । गत डिसेम्वरदेखि वुहान क्षेत्रमा कोरोना भाइरस देखियो र यसले विश्वव्यापी चिन्ता छायो । गत जनवरी २३ मा वुहान ‘लकडाउन’ भयो । त्यसपछि भन त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा कोरोना संक्रमित भएर वुहानमै जीवन सकिने हो कि भन्ने मनोवैज्ञानिक त्रासले सतायो । नेपाल सरकारले आइतवार उद्धार गरी काठमाडौं ल्याइएका पौडेलसहित १७५ जनालाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएको छ । प्रस्तुत छ, केन्द्रविन्दुका जितेन्द्र रसिकले पौडलसँग वुहान बस्दाको त्रासदेखि खरिपाटी क्वारेन्टाइन सम्मको अनुभूतिलाई लिएर गरिएको ५ जिज्ञासा ।

–वुहान विश्वविद्यालय अध्ययन गर्दै हुनुहुन्थ्यो । सुरुमा कोरोना भाइरसको प्रकोप कसरी देखियो वुहानमा ?

म वुहान विश्व विद्यालयमा ४ वर्ष अघिदेखि सिभिल इन्जिनियर अध्ययन गर्दै थिएँ । वुहानमा मानिस विरामी हुन थाले पनि डिसेम्वरमा वुहानका चिकित्सक ली वेनलियाङको कोरोना भाइरसको कारण मानिस बिरामी भएको पत्ता लगाए । तर उनको कुरा नमानेर त्यहाँको सरकारले उनलाई कारवाही नै गर्‍यो । जतिबेला जनावरी २३ मा वुहानलाई ‘लकडाउन’ गरियो त्यतिबेला कोरोना भाइरस फैलिसकेको थियो भन्ने अहिले प्रमाणित भएको छ । चिकित्सक ली वेनलियाङले कोरोना भाइरस भएको पत्ता लाग्नसाथ वुहान ‘लकडाउन’ गरिएको भए यो रोग त्यति भयावह हुने थिएन भन्ने मलाई लाग्छ । विडम्वना पछि भारइरस पत्ता लगाउने चिकित्सकको समेत सोही रोगले निधन भयो भन्ने खबर सुनियो । जनावरी २३ मा ‘लकडाउन’ गर्नु अघि नै हामीलाई वुहान विश्वविद्याललयले सचेत बनाएर राखिएको थियो र जनावरी २३ देखि नै हामीलाई बाहिर निस्कन बन्देज भयो । वुहान विश्वविद्यालयले हामीलाई खुवाइने खाना समेत वुहानभन्दा बाहिरबाट आयात गर्न थालेको थियो । त्यसैले वुहानमा पढ्ने विद्यार्थीको सुरक्षामा विश्वविद्यालयले विशेष ध्यान पुर्‍याएको थियो । हामी कोरोना भाइरसले भन्दा पनि बढी मनोविज्ञानले त्यहाँ बस्न कठिन बनाइरहेको थियो ।

तपाईंहरू नेपालमा आउन अपिल गरिरहँदा नेपाल फर्काउने वा त्यही सुरक्षित ठाउँमा राख्ने भन्ने विषयमा मुलुकमा राष्ट्रिय बहस चलिरहँदा कस्तो खालको सोंच आउँथ्यो ?

म पनि नेपाली थिएँ । भविष्यमा मुलुककै लागि योगदान दिन वुहान विद्यालयमा डाक्टर र इन्जिनियर पढ्दै गरेका अरु साथीहरू पनि थिए । हामी कोरोना संक्रमित भएको भए चीन सरकारले नै हामीलाई फर्काउँदैन थियो । तर नेपालमा भने हामीलाई राख्ने स्थानको विषय र मुलुक फर्काउने वा नफर्काउने भन्ने विषयमा मत मतान्तर भएछ । कतिपयले हामीलाई नेपाल फर्काइनु हुँदैन भन्दा चित्त दुखेको थियो । किनकि हामी संक्रमित थिएनौं । आफ्नै सन्तानलाई जोखिम क्षेत्रबाट उद्दार गर्नुपर्ने समयमा मतभेद गरेर बस्दा अझै ढिलो हुन सक्थ्यो । तर नेपाल सरकारले समयमै हामीलाई उद्दार गरेर ल्याउनु भयो । हामी ढुक्क छौं हामीलाई संक्रमण भएको छैन भन्नेमा । सरकारलाई धन्यवाद दिन चाहान्छु । सरकारले जुन कुनै मुलुकमा नेपाली समस्यामा पर्‍यो भने उद्दार गर्न सकिन्छ भन्ने उदाहरण पनि हो यो ।

स्वदेश आइपुग्दा कस्तो महशुस भयो ?

जब नेपाल एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड भयो तब हामी सबैजना खुसी भयौं । हामी सबैजना कोरोना संक्रमण हुनबाट जोगियौं र मृत्युको मुखबाट उम्किएर आयौं भन्ने आभास भयो । हामी विमानस्थलमा अवतरण हुँदा पौने पाँच बजेको थियो । हामीलाई विमानस्थलबाट खरिपाटी जानेबेला बिहानको ६ बजेको थियो । पर्यटक बसमा हामीलाई स्कर्टिङ गरेर खरिपाटी पुर्‍याइयो । हामीभन्दा बढी त्यहाँका सुरक्षाकर्मी र स्थानीयहरू डराएका पायौं । हामीलाई परिक्षण गर्ने चिकित्सक पनि डराएका पायौं । तर हामी भने स्वस्थ छौं भन्ने ढुक्क भएर डराएका थिएनौं । डर थियो त उद्धार भएन भने वुहानमै संक्रमित भएर उतै ज्यान गुमाउनु पर्ने हो कि भन्ने थियो । ‘इम्युनिटी पावर हाइ’ हुनेलाई यो रोगले हतपत केही नगर्ने रहेछ । वुहानमा पनि ५५÷६० वर्षमाथिका उमेरकाको नै बढी मृत्यु भएका छन् । बढीजसो जेष्ठ नागरिक र महिलाहरू प्रभावित भएका छन् । सरकारले नेपालमा जनचेतना बढाउन सक्यो भने कोरोना भाइरसबाट नेपाली सचेत हुन सक्दछन् । हामीलाई आशा छ १७५ जना नै सकुशल रहनेछौं । आइतबार विहान ९ बजे चिकित्सकले हाम्रो र्‍याल र सिंगान परिक्षणका लागि लगिएको छ । मंगलबार हाम्रो रिर्पोट आउँछ भनेका छन् । रिर्पोट आएपछि हामी ९५ प्रतिशत ढुक्क हुनेछौ ।

खरिपाटीको क्यारेनटाइनमा तपाईंहरूलाई राख्ने के कस्तो व्यवस्था गरेका रहेछन् ?

हामीलाई एउटा कोठमा ३ जनासम्म रखिएको छ । शौचालयको व्यवस्था छ । आफूले प्रयोग गरेका सामग्री र फोहोर व्यवस्थापन गर्न डस्विन राखिएको छ । आफैले फोहोर विसर्जन गर्नुपर्ने व्यवस्था गरिएको । व्याडमिन्टन खेल्ने ठाउँ बनाइदिएका छन् । समाचारकक्ष पनि बनाएका रहेछन् । ए, बी, सी र डी गरी चारवटा ब्लक बनाइएको छ । त्यही हामीलाई राखिएको छ । बाहिरबाट भित्र छिर्न निषेध गरिएको छ भने भित्रबाट बाहिर निस्कन पनि निषेध छ । सिमित क्षेत्रभित्र रहनलाई निर्देशन छ । सोही अनुरुप पालना गर्दै हामी साधारण जीवनयापन गर्ने दिन कुरिरहेका छौं । यति छोटो समयमा सरकारले गरेको यो व्यवस्थालाई हामीले धन्यवाद दिनुपर्छ ।

डराइरहेका स्थानीय र चिकित्सकहरूलाई के भन्नु हुन्छ ?

हामीले अपनाउनु पर्ने सबै सुरक्षा अपनाइरहेका छौं । एक अर्का साथीहरूसँग पनि त्यति नजिक रहेर घुलमिल गरिरहेका छैनौं । रिपोर्ट नआउँदासम्म संक्रमण भइहालेको भेटिए भने पनि एकअर्कामा नसरोस् भनेर सुरक्षा अपनाइरहेका छौं । हामी मध्ये कसैलाई संक्रमण देखिए तुरुन्तै क्वारेन्टाइनमा उपचारको लागि आइसुलेसनमा लगिन्छ । एम्बुलेन्स तयारी अवस्थामा छन् । स्थानीय डराउनु पर्दैन । बढी डाक्टरहरू पनि डराइरहेका छन्, र सुरक्षाकर्मी पनि । तर हामी आशा गरिरहेका छौं हामी मध्ये कसैलाई पनि भाइरस नदेखियोस् ।

Logo