रक्षामन्त्री आज कालापानी जाँदै

रक्षामन्त्री आज कालापानी जाँदै

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । ‘हामी हाम्रो भूमि एक इन्च पनि छाड्दैनौं’, उनले भने, ‘हामीलाई अरू देशको भूमि पनि चाहिँदैन ।’

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेपछि उनी पहिलो पटक दार्चुला आएका छन् । उनले देशको सिमाना मिचेको कुरा नसहने स्पष्ट पारे । ‘कालापानीसहितको भूभागका बारेमा भारतसँग कुरा भएको छ’, दार्चुला उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापार मेला तथा दार्चुला महोत्सव उद्घाटनमा उनले भने, ‘हामीले त्यो भूमि फिर्ता लिन्छौं।’

उनले कालापानीसहित लिपुलेक र लिम्पियाधुराका बारेमा राजनीतिक दल एकै ठाउँमा उभिएकाले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा भारतसँग वार्ता गर्न सजिलो भएको उल्लेख गरे।

उपप्रधानमन्त्री पोखरेलसहित सुरक्षा अधिकारी सोमबार बिहान कालापानी क्षेत्रको स्थलगत निरीक्षणमा जाँदैछन्। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उपप्रधानमन्त्रीसहितको टोली कालापानी जाने कार्यक्रम रहेको बताए । ‘सरकारले छाङरुमा सशस्त्र प्रहरी बेसक्याम्प राख्ने निर्णय गरेको छ। त्यसका लागि उच्चस्तरीय टोलीले निरीक्षण गर्नेछ। कालापानी क्षेत्रको अवलोकन पनि हुन्छ’, उनले भने, ‘उपप्रधानमन्त्रीज्यूसहित सुरक्षा अधिकारी बिहान १० बजेतिर कालापानी जाने कार्यक्रम तय भएको छ।’
अन्नपूर्णबाट

Logo