सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले विज्ञान तथा प्रविध विश्वविद्यालयमा समाजशास्त्र र कानून शिक्षा राख्न जरुरी नभएको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा सांसद खतिवडाले यस्तो बताएका हुन् ।
सांसद कल्याणीकुमारी खडकाले विश्वविद्यालय विश्वस्तरिय भन्ने शब्दलाई मन्त्रालयले स्पस्ट पार्नुपर्ने बताइन् । उनले सबै विश्वविद्यालय विश्व स्तरको नै हुने भएकाले यसमा मन्त्रालय स्पस्ट हुन नसकेको बताइन् ।
सांसद खगराज अधिकारीले विशिष्ट प्रकारको विश्व विद्यालय भएकाले यसको उद्देश्य विज्ञान र प्रविधिसँग र अनुसन्धानसँग सम्बन्धीत हुनुपर्ने गरी विधेयकमा आउनुपर्ने बताए । सांसद अन्जना विशंखेले परम्परासँग जोडिएका सिपलाई प्रविधिसँग जोडेर विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने बताइन् ।
सांसद चित्रलेखा यादवले विश्वविद्यालयको केन्द्रीय कार्यालय र विश्वविद्यालय फरक फरक ठाउँमा रहन नहुने बताइन् । उनले यो विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि मकवानपुरको चित्लाङ्मा नै रहने गरी गरिएको संशोधन प्रस्ताव अनुसार नै व्यवस्था गर्नुपर्ने बताइन् ।
सांसदहरुले विश्वविद्यालयको निर्माण गर्नेक्रममा स्थानीय प्रतिनिधिलाई समेत सहभागि गराउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै सांसदहरुले विश्वविद्यालयको नेतृत्व प्रेसिडेन्सियल प्रणालीमा रहने परिकल्पना गरिएको तर कस्तो व्यक्ति रहने भन्नेमा अझै स्पस्ट गर्नुपर्नेमा जोड दिएका छन् ।































प्रतिक्रिया