सरकारको दुईवर्ष पूर्णरुपमा असफल : प्रतिपक्षी दल

सरकारको दुईवर्ष पूर्णरुपमा असफल : प्रतिपक्षी दल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकार गठनको दुई बर्ष पुगेको सन्र्दभमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पुर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुईतिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगती देखाउन नसकेको टिप्पणी गरे । बजेट खर्चको गति बढ्न नसक्नु, सुशासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न दोषी पत्ता लगाउन नसक्नु तथा हत्या हिंसा लगायतका घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएको तर्क उनले गरे ।

उनले भने “सरकारको दुई बर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निराशाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुड गर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाईडवडी काण्ड, न्यारोवडी काण्ड देखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गा देखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुड गर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको देखाईरहेको छ ।”

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गरे । राजनीतिक , प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिर्वतन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उनको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउने लगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पूर्णरुपमा असफल रहेको बताए ।

उनले भने “राम्रो अवसर प्राप्त भएको थियो । प्रधानमन्त्रीले त्यो अवसर गुमाउनुभयो । भ्रष्टाचार रोक्नका निम्ति प्रशासनिक सुधार गर्नु पथ्र्यो । जुन हाम्रो प्रक्रियामुखी व्यूरोक्रेसी थियो । यसलाई संरचनात्मक ढंगले बदलेर परिणाममुखी व्यूरोक्रेसीमा बदल्न सक्नु पथ्र्यो । भ्रष्टाचार नियन्त्रणका अंग पनि त्यत्ति प्रभावकारी थिएनन् । ”

राष्ट्रिय जनता पार्टीका महेन्द्रराय यादवले सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिए ।

सरकारका मन्त्री भने सरकारले यो दुई बर्षमा असाधारण काम गरेको दाबी गर्छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको जिकिर गरिन् ।

उनले भनिन् “विभिन्न वेथितिलाई चिर्दै असाधारण उपलब्धि प्राप्त गर्ने गरी सरकार अगाडि बढेको छ । इतिहासमा कसैले गर्न नसकेका कामहरु यो सरकारले गर्ने गरी आफ्नो पाईला अगाडि सारेको छ । धेरै महत्वपूर्ण सफलताको बर्ष भन्न पर्ने ठाउँमा हामी पुग्छौ ।” उनले केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको वचाउ गरिन् ।

Logo