मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । विहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी थिइन् ।

उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पु¥याउन प्रतिबद्ध रहेको पनि प्रस्ट पारिन् । उपत्यकावासी आशा भरोसा गरेर मेलम्चीलाई लामो समयसम्म कुरेको उनको भनाइ थियो । उनले मन्त्रालयको कार्यतालिका अनुसार नै निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिइन् ।

पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । सिनो हाइड्रोसँग असोज १२ मा सुरुङ निर्माणका लागि र असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो ।

‘‘चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले द्रुतगतिमा काम गरिरहेको छ’’ उनले भनिन्, ‘‘पटक–पटक पारिएको निराशाको हामी सन्निकटमा रहेका छौँ ।’’ मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीका बारेमा आमनागरिकमा रहेको भ्रम हटाउन श्वेतपत्र जारी गरिएको जानकारी दिए। मेलम्चीका विषयमा फरक–फरक धारणा आउने भएकाले एउटै कुरा जानकारी गराउन मन्त्रालयले यो काम गरेको उनको भनाइ छ । उनले निर्माण कम्पनीले गरेको सम्झौता अगावै काम सम्पन्न गर्ने भएकाले असार मसान्तसम्म पानी ल्याउने बताए।

सम्झौता अनुसार सुरुङको काम आगामी असोजसम्म र हेडवक्सको काम पुससम्म सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनि सम्झौता अगावै यी काम सकिने सचिव बेल्वासेले बताए । सुरुङको काम असारमै नसकिए पनि उपत्यकावासीले त्यही समयदेखि खानेपानी पाउने बताए । उनले भने “अस्थायी बाँध बनाएर पानी ल्याउने तयारी गरिएको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाको १४ वटा गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ ।
रासस

Skip This
Skip This
Logo