मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् १६ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले उपनिर्वाचन सम्पन्न भए पश्चात भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्च बापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले थापाथली क्याम्पस (इन्जिनियरिङ्ग अध्ययन संस्थान), थापाथली, काठमाडौंलाई बि.ई. अटोमोबाइल (४८ जना) र बि. आर्किटेक्चर (४८ जना) सहितको नयाँ थप कार्यक्रम अध्ययन–अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरि बैठकले नारायणी नदीमा सञ्चालन हुन लागेको क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट (क्रुज स्टेशन) निर्माण गर्न चितवन जिल्ला भरतपुर महानगरपालिका–१६ स्थित राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिएको छ ।

यस्तै मन्त्रिपरिषदले नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेपलाञ्चोक निवासी भारती भेटुवाललाई चार वर्ष पदावधि रहने गरी मनोनित गर्ने निर्णय गरेको छ ।

कर्जा सूचना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिइएको छ । नेपाल नागरिक उड्डयन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

Logo