काठमाडौं ।
राष्ट्रिय सभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुने गरी ६० वर्षपछि पुस ५ गते संविधानको कुनै धारामा पनि उल्लेख नभएको काम वर्तमान सरकारले गरेको बताइन् । आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण प्रतिनिधिसभा विघटन गरिनु चित्त बुझ्दो कदम नभएको बताइन् । पाँच वर्षका लागि नेपाली जनताले नेकपालाई विश्वास र भरोसा गरि दिएको मतको अपमान भएको बताइन् । यस्तै उनले असंवैधानिक कदम फिर्ता लिन समेत आग्रह गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै अर्का सांसद जीवन बुढाले गत भदौ महिनामा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र सानित्रिवेणी गाउँपालिकामा भिषण बाढी र पहिरो गई ११ सय भन्दा बढी नागरिकहरु घरबार बिहीन भएको र उनीहरुको पुनर्स्थापनाका लागि अहिलेसम्म केही काम नभएको बताए। अहिले कालिकोट जिल्लामा हिउँ परिरहेको र नागरिकहरु खुला आकाशमा बस्न बाध्य भएकोले सरकारको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले किसानहरुले मिहेनत गरेको उखुको पैसा माग्न प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था रहेको तर सरकार मौन रहेको बताइन् । उनले सरकारले आश्वासन दिने तर किसान सधैं मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताइन् । त्यसको जवाफ सरकारले दिनुपर्ने बताइन् । यस्तै किसानलाई मल बिउबिजन समयमा उपलब्ध नगराउने तर किसानले दोब्बर खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने सरकारको प्रवृति रहेको उनको भनाइ थियो । त्यसैले सरकार जवाफदेही भएर किसानको हितमा काम गर्न माग गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वको प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताइन् । यो घटनाबाट संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातावरण बनाईदिएको बताइन् ।































प्रतिक्रिया