जनतालाई सुसुचित गर्न सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण : पूर्वप्रधानमन्त्री खनाल

जनतालाई सुसुचित गर्न सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सुसुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्र्दभमा व्यापक प्रचार प्रसार गरी जनतालाई सुसुचित बनाउन रेडियोले भूमिका खेलेको बताएका हुन् । प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने बताए ।

खनालले नेपालको संविधानले सम्पूर्ण नेपालका लागि आवयश्क हक अधिकार सुनिश्चित गरेको, देश, जनता, सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परिवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गरे । विश्वमै उत्कृष्ट रहेको संविधान आफैंमा पूर्ण नभएपनि विकासमा डकुमेन्ट्री भएकाले यसलाई आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताए । उनले सीमान्तकृत जातजातिका अधिकार अझै स्थापना गर्न नसकिएको, छुवाछुतको अन्त्य गर्न नसकिएको र जनताले पूर्णकालिन न्याय पाउन नसकेको उल्लेख गरे । ०६२ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको भएपनि ०७६ सम्म आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पीछडिएका समूदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताइन् । संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उनको विश्वास थियो ।

आज सामुदायिक रेडियो प्रशारक संघले विश्व रेडियो दिवसका अवसरमा रेडियो र विविधता विषयक अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।

Logo