सरकारले चीनबाट ल्याउने नेपालीलाई भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयले त्यहाँका स्थानीयलाई त्रसित बनाएको छ । यसै विषयलाई लिएर अहिले स्थानीय आन्दोलित छन् । सर्वसाधारणमा देखिएको त्रासलाई मध्यनजर गर्दै त्यहाँको स्थानीय सरकारले पनि वैकल्पिक स्थानको खोजी गर्न माग गरेको छ । यही विषयमा केन्द्रबिन्दुकी संवाददाता सृजना राईले नेकपाका नेतासमेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रसँग कुराकानी गरेकी छन् ।
सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विधुत प्राधिकरण तालिम केन्द्रमा राख्ने निर्णय गरेको छ, यसमा तपाईको भनाइ के छ ?
यहाँ राखिने कुरा मैले पनि सञ्चारमाध्यम हेरेर मात्रै जानकारी पाएँ । स्थानीयमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ । नगरपालिका घेराउ गर्ने, कालो झण्डा देखाउने, ज्ञापन पत्र बुझाउने स्थानीयबाट भएको छ । यस्तो घनाबस्तीबीचमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्दै त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छौं ।
सरकारले पनि यस विषयमा कुनै अध्ययन नगरि पक्कै पनि यो स्थान रोजेको त होइन होला, यसरी विरोध गर्नु कतिको जायज जस्तो लाग्छ ?
कोरोना भाइरसको विषयमा जनतामा पर्याप्त जानकारी छैन । यो भाइरस के गरी सर्छ, के गरी सर्दैन । यहाँ राख्दा स्थानीयलाई हानी हुन्छ कि हुँदैन भन्ने विषयमा विपतबाट बच्न पूर्व तयारीमा हुनुपर्ने कामहरू भएको छैन । त्यो भएर स्थानीयमा मनोवैज्ञानिक त्रास छ । केही मान्छेहरुमा संक्रमित बिरामीहरु पनि ल्याउने हो कि भन्ने भ्रम छ । यसले एक किसिमको आतंक सिर्जना गरेको हो ।
नगरपालिका पनि सरकारको एउटा निकाय हो, सरकारले गरेको निर्णयमा तपाईहरू स्थानीयको पक्षमा लाग्नु भएको छ ?
हाम्रो भनाइ यस विषयमा राजनीतिक दलको प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, स्थानीयको अगुवाहरु राखेर छलफल गरेर मात्र अगाडि बढ्नुहोस भन्ने हो । सतकर्ता अपनाउने कार्यक्रमहरू राखौं । स्थानीयलाई पर्याप्त मात्रामा काउन्सिलिङ् गर्नुपर्छ भन्ने हो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी ल्याएर जनतालाई बुझाउनु पर्ने हो ।
यस स्थानमा ल्याउनै हुन्न भन्ने नगरपालिका र स्थानीयको माग हो ?
क्वारेन्टाइन र आइसोलेसन राख्ने ठाउँ यस्तो घनाबस्तीको बीचमा होइन । यसलाई बरु बस्तीभन्दा अलिक टाढा शिवपुरी जस्तो डाँडामा राख्न हाम्रो माग हो ।
तपाई मातहत पनि स्वास्थ्य शाखा छ, स्थानीयलाई बुझाउन नसकेको जस्तो लाग्दैन ?
मैले नै बुझेको छैन, अरूलाई कसरी बुझाउन सक्छु । सुरुमा मलाई बुझाउनु पर्ने हो, अनि बल्ल म जनतालाई बुझाउन सक्छु । स्थानीय जनताले जे माग गर्छन्, जे आवाज उठाउँछन्, जनप्रतिनिधिको आधारले त्यो कुरा मैले धेरै बुझ्छु । जनताको कुरा नाजायज हुँदैन किनभने जनताले जे बुझेका छन् त्यही बोल्छन् ।































प्रतिक्रिया