कारागारमा कैद भुक्तान गरिरहेका श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

कारागारमा कैद भुक्तान गरिरहेका श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।

श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका नीहरूलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले ।

उनीहरूले जब एकापसमा भेटे तब उनीहरू अघिल्लो दिनलाई सम्झे र भक्कानिएर रोए । एक आपसमा दुःख सुखको कुरा गरे, घरपरिवारको चिन्ता व्यक्त गर्दै आफूहरूले गरेको अपराध प्रतिघृणा व्यक्त गर्दै १५ मिनेटको वर्तालापपछि पुनः कारागारको आ-आफ्नो कोठातिर लागे, बाँकी सजाय भोग्न ।

यस्तै दृश्य देखियो, वीरगञ्ज मुर्लीका दिनेश मण्डल र उनकी श्रीमती ममता मण्डलको । मण्डल दम्पती पनि अवैध लागुऔषध कारोवार मुद्दामा सजाय काटिरहेका छन् । सो कारागारभित्र ११ जोडी श्रीमान् श्रीमती विभिन्न मुद्दामा सजाय काटिरहेका छन् ।

कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान् श्रीमतीलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेटघाट गर्ने वातावरण मिलाइएको छ, वीरगञ्ज कारागारका प्रमुख श्रवणकुमार पोखरेलले भने, “यो कारागार मानव अधिकारमैत्री भएकाले महिनामा एकचोटि कैदी जीवन बिताइरहेका श्रीमान्, श्रीमतीलाई भेट्ने वातावरण बनाइएको छ ।”

विसं १९९५ भन्दा अघि राणा शासनकालमा निर्माण भएको सो कारागार १२ हजार ९९४ दशमलव छ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । एक हजार कैदीबन्दी अटाउने क्षमता भएका सो कारागारमा एक हजार ३६३ कैदीबन्दी रहेका छन् । तीमध्ये ९७ महिला र चार आश्रित बालबालिका छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको प्रमुख पोखरेलको भनाइ छ ।

कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका रहेका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी नागरिक तथा १०५ भारतीय रहेका छन् ।  कारागारभित्र रहेका सबै कैदीबन्दीका लागि प्रतिदिन विद्युतीय हाजिरी (इहाजिरी) को व्यवस्था मिलाइएको छ । यसको लागि सात वटा विद्युतीय हाजिरी मेशिन राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । बाँकी चार जना एचआइभी सङ्क्रमितलाई नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ ।

 

Logo