काठमाडौं । नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरूको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरू तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिए । उनले नोवल कोरोना भाइरसको लक्षण फेला परेको पाइएमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले त्यसपछि उपत्यकामा रहेका ६ वटा हव अस्पताल र अन्य स्याटेलाइट अस्पतालमा व्यवस्था गर्न मंगलबार छलफलका लागि बोलाइएको समेत जानकारी दिए ।
उनले चीनबाट ल्याउने विद्यार्थीहरूका लागि विशेष प्रोटोकल बनाएर सुरक्षित रुपमा राख्न लागिएको समेत बताए । त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरूलाई विशेष तालिम दिएको उनले बताए ।
उनले चीनबाट ल्याइएका विद्यार्थीहरूलाई राखिने क्वारेन्टाइनमा खटाइने स्वास्थ्यकर्मीहरू, कर्मचारीहरू, एम्बुलेन्सका कर्मचारी, एयरपोर्टमा रहने कर्मचारी, जहाजमा रहने कर्मचारी सबैलाई अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिइएको जानकारी दिए ।
त्यस्तै काठमाडौं उपत्यकामा विरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगंज, विर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अरुपताल हुन भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटेलाईट अरुपताल रहेको छ ।





























प्रतिक्रिया