काठमाडौं । भाेलिदेखि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको कार्यकाल सकिँदैछ । तर, आजसम्म सरकारले आइजिपी नियुक्त गर्न सकेको छैन । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत आइजिपी नियुक्त गर्न सकेन ।
आईजिपी सर्वेन्द्र खनालसहित तीन एआइजी र उनका ब्याचका सम्पूर्ण डीआइजीहरूले मंगलबारबाट अवकाश पाउँदैछन् । उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर विदा हुन लागेका हुन् ।
आइजिपीसँगै विदा पाउने एआईजीमा पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात रहेका छन् । त्यसै गरी डीआइजीहरूमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन् ।
आइजिपी खनालले विदा पाउने भएपछी नयाँ आइजिपी को बन्ला भन्ने आम चासो रहेको छ । यसमा खनालकै ब्याचको वैकल्पिक टोलीका डीआईजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल सवैभन्दा अगाडि रहेको प्रहरी स्रोत बताउँछ । यी दुईमा पनि ठाकुर ज्ञवाली अगाडि छन् स्रोत भन्छ । नयाँ आउने आइजिपीको पदावधी मात्र ५ महिनाको हुनेछ । यस वैकल्पिक टोलीको पदावधी आउँदो असार २४ मा सकिनेछ । आइजिपीको दौडमा रहेका ठाकुर प्रदेश १ को प्रहरी प्रमुख हुन् भने लम्साल सुदुरपश्चिमका प्रमुख छन् ।
तर, सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल लम्बिनेछ ।





























प्रतिक्रिया