अर्बौं रुपैयाँको हुन्डी कारोबार

अर्बौं रुपैयाँको हुन्डी कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल) बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानले हुन्डी कारोबार भइरहेको फेला पारेको हो।

विभागले चालु आर्थिक वर्षको साढे ६ महिनामा पाँच अर्ब रुपैयाँको बिगो दाबी गर्दै हुन्डी कारोबार तथा विदेशी विनिमय अपचलन मुद्दा दायर गरेको छ । माघ १५ सम्म तीन सय १५ जनालाई प्रतिवादी बनाई पाँच अर्ब १० करोड ७८ लाख बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागका निर्देशक राजिव पोखरेलले बताए । ‘विभिन्न मुलुकबाट हुन्डीमार्फत रकम आइरहेको छ,’ पोखरेलले भने, ‘हुन्डी कारोबारीलाई कानुनी दायरामा ल्याएका छौं।’ विभागले कारोबारीलाई बिगोको तेब्बरसम्म जरिवानासहित तीन वर्ष कैद सजाय माग दाबी गरेको छ।

विदेशमा रहेका नेपालीले बैंकिङभन्दा हुन्डीबाट पठाउँदा कम खर्च हुने भएकाले यसको कारोबार नरोकिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । नेपालबाट गैरकानुनी रुपमा विदेश जाने पैसा पनि हुन्डीमार्फत नै जान्छ। गोप्य सूचनाका आधारमा सीमित कारोबारीलाई विभागले अनुसन्धानको दायरामा ल्याए पनि अर्बौं रुपैयाँको हुन्डी कारोबार हुँदै आएको छ।

विदेशबाट रेमिटेन्स ल्याउन नेपाल राष्ट्र बैंकले तीन दर्जनभन्दा बढी कम्पनीलाई अनुमति दिएको छ। तर हुन्डी कारोबार रोकिएको छैन। हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन्।
नागरिकबाट

Logo