आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला आजबाट सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच एक दिवसिय क्रिकेट श्रृंखला सुरू भएको हो । उद्घाटन खेलमा आज नेपाल र ओमान खेल्दैछन् । नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलोपटक घरेलु मैदानमा त्रिकोणात्मक श्रृंखला खेलेको हो । त्यसैले नेपालका लागि यो ऐतिहासिक खेल र इतिहास कोर्ने अवसर पनि हो ।
नेपालको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने रहेका छन् । त्रिवि क्रिकेट मैदानमा अभिनास बोहोरा र सुशन भारीले डेब्यु गर्दा कुशल मल्ल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी बेन्चमा छन्।
माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टिमले एक आपसमा दुई–दुई खेल खेल्नेछन् । नेपालले दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते र अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । अहिलेसम्म ओमानसँग खेलेका आठमध्ये सुरुवाती तीन खेल जितेको नेपाल त्यसपछि लगातार पराजित भएको छ ।
नेपालले सन् २०१८ को जुनमा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा तीन जित र तीन हारको नतिजा निकालेको छ।





























प्रतिक्रिया