स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनसँग छलफल

स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न तयारी तीव्र पारेको छ । निर्वाचनको तयारीस्वरुप त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले मंगलबार विद्यार्थी सङ्गठनसँग छलफल गरेको छ ।

सो क्रममा प्रस्तावित निर्वाचन कार्यतालिकाका साथै आचारसंहिताबारेमा छलफल भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए । “त्रिविले तोकिएको मितिमै निर्वाचन गर्ने गरी छलफल गरेको हो”, उनले भने, “आजको छलफलले विद्यार्थी सङ्गठनका तर्फबाट निर्वाचन कार्यतालिका सम्बन्धमा केही सुझाव भए एक/दुई दिनभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।”

बैठकमा नेपाल विद्यार्थी सङ्घ बाहेक अनेरास्ववियुका संयोजक ऐन महर, अनेरास्ववियु (छैठौं) अध्यक्ष विमल पोखरेल, अनेरास्ववियु (पाँचौं) धनश्याम मिश्र, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरि गजुरेलको सहभागिता थियो । नेपाल विद्यार्थी सङ्घको कार्यसमिति नबनेको कारणले सहभागी नभएको हो ।

बैठकमा त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले आङ्गिक नभइ सम्बन्धन प्राप्त क्याम्पसमा पनि त्रिविले पत्र पठाएर निर्वाचन गर्न निर्देशन दिनुपर्ने बताए। ‘‘पटक–पटक रोकिएको स्ववियु निर्वाचन सबै क्याम्पसमा हुनुपर्दछ’’ उनले भने, ‘‘अहिले सबै सङ्गठन निर्वाचनका लागि तयार रहेकाले कुनै पनि बहानामा निर्वाचन रोकिनुहुन्न ।’’

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिविमा २०६५ साल यता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ सालमा २५० मात्र क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।

निर्वाचन कमिटीले केही दिनभित्र निर्वाचन कार्यतालिकालाई पूर्णता दिने उनको भनाइ थियो । प्रस्तावित कार्यतालिका अनुसार आगामी फागुन ४ गते मतदाता सूची प्रकाशित गर्ने, मतदाता सूचीमाथि दाबी विरोध र मतदाता सूचीमाथि दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

यस्तै फागुन ५ गते उम्मेदवारको मनोनयनपत्र वितरण, उम्मेदवारको मनोनयपत्र र समानुपातिक तर्फबाट उम्मेदवारको नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ । फागुन ६ गते उम्मेवारको नमावलीमाथि दाबी विरोध छानबिन गरी अन्तिम नामावली प्रकाशित हुनेछ । फागुन ७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावाली प्रकाशित गर्ने तथा फागुन १४ गते निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । स्ववियु निर्वाचनमा २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरुप गरिने जनाइएको छ ।
रासस

Skip This
Skip This
Logo