काठमाडौं ।
सत्तापक्ष र विपक्षी दलका नेताहरुले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जनता र सांसद्को आवाज उठाउने मञ्चका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा आइतबारको सभामुखको निर्वाचनपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सांसद हुने योग्यता नै सभामुख हुने योग्यता भएको उल्लेख गर्दै सापकोटाले शिक्षकको समेत लामो समय अनुभव सम्हाल्नुभएकाले सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्ने जनाए ।
नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुख सापकोटाले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नसक्ने अपेक्षा व्यक्त गरे । नेता नेपालले विभिन्न माध्यमबाट प्राप्त सुझाव र प्रतिक्रिया तथा आलोचनालाई समेत आत्मसात् गरेर अघि बढ्न सुझाव दिए ।
यस्तै नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुखको भूमिकामा निर्वाचित सापकोटाले लोकतान्त्रिक मूल्य मान्यतालाई कायम गर्ने अपेक्षा व्यक्त गरे । सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बनाउँदै प्रतिपक्षी र जनताका आवाजलाई यथेष्ट समय दिने काम गर्न तथा निष्पक्ष र सन्तुलितरूपमा नेतृत्व गर्ने काममा आफ्नो पार्टीले सहयोग गर्ने उनले उल्लेख गरे । उपसभामुखमा काँग्रेसले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले सभामुख र उपसभामुखमा फरकफरक दल हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसबारे आफूहरुले पछि निर्णय गर्ने जनाए ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सभामुख सर्वसम्मतरूपमा चयन हुनु सकारात्मक भएको उल्लेख गर्दै उपसभामुखका लागि सत्तारूढ दलले जसलाई दिन चाहन्छ त्यही हुने बताए ।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सापकोटा बौद्धिक व्यक्तित्वसमेत रहनुभएको र जनयुद्धकालमा सहकार्य रहेको उल्लेख गर्दै कार्यकाल सफलताको कामना गरे । खानेपानी मन्त्री बीना मगरले नवनिर्वाचित सापकोटामा सबल र कुशल नेतृत्व क्षमता भएकाले सभामुखको जिम्मेवारी सहज ढङ्गबाट निर्वाह गर्नसक्ने आकलन गरे ।
रासस





























प्रतिक्रिया