काठमाडौं । काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रकम लुट्ने ६ जना लुटेरालाई प्रहरीले पक्रिएकाे छ ।
गत बिहीबार जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदार हुन् । महाशाखाका अनुसार गुरुङले काभ्रेस्थलीमा रहेको जमिन किन्नका लागि बैनास्वरुप सो रकम बोकेका थिए । उनलाई पक्राउ परेका समूहले जमिन देखाएर सो समूहले नै आँखामा खुर्सानीको धुलो हालेर रकम लुटी फरार भएका थिए ।
प्रवक्ता सिंहका अनुसार १० गते २ जना र ११ गते चार जना गरी सबै लुटेरालाई पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा दाङ जिल्ला पुरन्धारा गाउँपालिका वडा नं ९ खेप्ताङका ३८ वर्षीय बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेस्वर कटजुनका ३० वर्षिय नकुर तामाङ, रसुवा आमाछोदिङमो गोलजुङका ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ र रसुवा उत्त्रगया खड्कुका २८ वर्षीय संजित वाइवा रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरूले गुरुङबाट लुटेकाे रकमले ३ लाख ३० हजार बराबरकाे बाइक किनेकाे, ऋण तिरेकाे, गहना बनाएकाे, एक जनाकाे बैंक खातामा २ लाख ११ हजार जम्मा गरेका प्रमाण फेला पारेकाे प्रहरीले जनाएकाे छ । साथै उनीहरूकाे साथबाट १८ लाख ५० हजार ५ सय नगदसमेत जफत गरेकाे प्रहरीले जनाएकाे छ ।





























प्रतिक्रिया