भक्तपुर ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा शनिबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले प्राविधिक शिक्षा र सीपले मात्रै रोजगारी वृद्धि गर्ने बताए ।
सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। कूल ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्ने भए पनि ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर राम्रो नभएको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति डा यादवले किसान तथा मजदुरका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शिक्षाको सुधारबिना देश विकास हुँदैन भन्दै नेपालको विश्वविद्यालयको शिक्षाको गुणस्तरसमेत निकै खस्किएको भनाइ राखे ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिकाको नमूनाको रुपमा अगाडि बढेको चाँगुनारायण माध्यामिक विद्यालयलाई प्राविधिक विषयको नमूनाको विद्यालय बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय तहको आवश्यक समन्वय गरी विद्यालयको विकासका लागि आर्थिक सहयोग र अन्य सहयोगका लागि पहल गर्ने बताए ।
वाग्मती प्रदेशका सदस्य कृष्णलाल भँडेलले संसद् विकास कोषबाट चाँगुनारायण माविलाई १० लाख आर्थिक सहयोग दिने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्यले एक करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्यसहित महायज्ञ शुरु गरेको बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास, शिक्षा र स्वास्थ्यमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
रासस





























प्रतिक्रिया