ओली र प्रचण्ड : मन परुन्जेल चाटाचाट, मन नपरेपछि काटाकाट

ओली र प्रचण्ड : मन परुन्जेल चाटाचाट, मन नपरेपछि काटाकाट

केन्द्रबिन्दु
0
Shares

  • डा. राजेन्द्र कोजु –

राज्य व्यवस्था कस्तो हुने, देश कस्तो हुने, समाज कतातिर जाँदै छ, राज्यको भविष्य कस्तो हुनेछ ? भन्ने कुरा देशको राजनीतिक व्यवस्था र संविधान तथा तत्काल कायम रहेको नीति, नियम र योजनाले निर्देशित गर्दछ भन्ने आम धारणा छ ।

नेपालको आधा शताब्दी राजनीतिक व्यवस्था परिवर्तन र संविधान सभा मार्फत संविधान निर्माणको गृहकार्य, अभ्यास र तयारीमै वित्यो । विकास र समृद्धिको अवरोधको कारक तत्व र राजनीतिक अध्ययन, नयाँ व्यवस्था बारे चिन्तन, व्यवस्था परिवर्तनका लागि रणनीतिक एवं कार्यनीतिक योजना निर्माणमा केन्द्रित रहे । फलस्वरूप, राणाकालीन समयदेखि संघीय व्यवस्थासम्म आइपुग्दा धेरै पटक राजनीतिक व्यवस्था परिवर्तन भयो ।

यो अवधिमा नेपाल प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र, दलविहीन तानाशाही व्यवस्था, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र हुँदै गणतान्त्रिक संघीय व्यवस्थासम्म आइपुगेको छ । नेपालमा जति छिटो राजनीतिक व्यवस्था परिवर्तन हुने देश शायदै होलान् । नेपाल विभिन्न राजनीतिक व्यवस्थाको प्रयोगशाला सावित भएको तथ्य धेरै पटक राजनीतिक विद्वान्हरूको मुुखारविन्दबाट निस्किसकेको कुरा हो ।

त्यसो त, जनताले पनि यो बीचमा आफ्नै जीवनकालमा भएका विभिन्त्र व्यवस्थाको तीतोमीठो अनुभव र भोगाइका आधारमा हरेक व्यवस्थाको सवल र दुर्वल पक्ष विश्लेषण गर्न सक्ने भएका छन् । एक हिसावले हेर्दा नेपालका नागरिकहरू खुल्ला विश्व विद्यालयको राजनीति शास्त्रका विद्यार्थी सावित भएका छन् । धेरै वाद र दर्शनका बारेमा आधा शताब्दी प्रशिक्षित भइसकेका छन् ।

राजनीतिक परिवर्तनका कारण जनतामा देखिएका नकारात्मक प्रभावलाई छोड्ने हो भने नेपालीहरूले प्राप्त गरेका राजनीतिक अनुभव वास्तवमै महत्वपूण सावित हुनसक्छन् । उनीहरूले प्राप्त गरेका अनुभवहरू र उनीहरूको मनमा गडेका वा प्रतिविम्वित भएका अनुभवहरू विश्वको नाम चलेका विश्वविद्यालयमा घण्टाैँ लेक्चर दिन पुग्ने खालका छन् । यसर्थ, नेपाल राजनीति शास्त्रका विद्यार्थीको शोध र अनुसन्धानका लागि उर्वर भूमि सावित हुनसक्छ ।

देशको समृद्धि र विकासमा आशा गरे अनुरूप वा अपेक्षाकृत ढङ्गले वढ्न नसक्नुमा व्यवस्था दोषी छ वा नेतृत्वको व्यवहार दोषी छ भने कुरामा पनि जनताले राम्रो अनुभव गरेका छन् । देशको पछ्यौटेपनको लागि को कसरी जिम्मेवार हुन्छन् भने विषयमा पनि गम्भीर समीक्षा जरुरी छ ।

व्यवस्थाका लागि नेपालीहरूले धेरै लडे । अब नेतृत्वको व्यवहार परिवर्तनका लागि लड्न आवश्यक भइसकेको छ । देशको नेतृत्व गर्ने अभियन्ता वा नेताका व्यवहार, संस्कार र शैली एवं चिन्तनको विरोधमा समेत लड्ने बेला आएको देखिन्छ । किनभने, नेतृत्वको मनोविज्ञान, सिकाइ, बुझाइ र विश्वासले पनि राज्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

समाज र देशका विभिन्न पक्षलाई एकजना नेताले देख्ने, हेर्ने र बुझ्ने दृष्टिकोण कस्तो रहने भने कुराले पनि राज्य संचालन र व्यवस्थापनमा महत्वपूर्ण अर्थ राख्दछ । नेताका चिन्तनशैली, सोच्ने तरिका, विचार निर्माणको शैली आदिले समाज रूपान्तरणको खाका निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछ । एकजना व्यक्तिको चिन्तन, दर्शन र सोचमा वा परिकल्पनामा आमूल परिवर्तन भएका थुप्रै उदाहरणहरू हामीसँग छन् । एकजना वैज्ञानिकले आविष्कार गरेको एउटा सूूत्र र सिद्धान्तका कारण विश्व उज्यालो भएको छ । एकजना विद्वा‍न्‌ले प्रतिपादन गरेको सिद्धान्तका कारण विश्व साँघुरिएको छ । त्यसरी नै एकजना नेताको कारण मानव समाजमा व्यापक हेरफेर र उथलपुुथल आउँछ । यसैले, नेताको दृष्टि र दृष्टिकोणको गम्भीर समीक्षा र गहन अध्ययन जरुरी भइसकेको छ । नीति र नेता, नारा र व्यवहार, नेताको विगत र वर्तमानजस्ता सबै कुराको गम्भीर ढङ्गले समीक्षा गरिनु आवश्यक छ । नेताका स्वभावको आधारमा समेत जनताले नेतालाई चिन्न आवश्यक भइसकेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा यतिखेर नेपालको राजनीति ओली र प्रचण्डको वरिपरि घुमेको छ । तसर्थ नेकपाका अध्यक्षद्वय खड्ग प्र. ओली र पुष्पकमल दाहाल प्रचण्डलाई केन्द्र भागमा राखी नेपालको राजनीतिलाई विश्लेषण गर्नुु आवश्यक हुन्छ ।

नेपालको राजनीतिक व्यवस्था र संविधानले एउटा आकार लिइसकेको छ । यो एउटा साध्य हो । यो साध्यलाई व्यवहारमा उतार्ने मुुख्य भूमिकामा रहेका यी दुई व्यक्ति को हुन् ? कस्ता हुन् ? उनीहरू कस्ता स्वभाव, व्यवहार, शैली, सोच र चिन्तनका मानिस हुन् त भन्ने कुराको विश्लेषण आवश्यक छ । माक्र्सवादको बाक्लो किताब ढोगेर, घोकेर, खोकेर र बोकेर आउँदैमा सहजै विश्वास गर्न आवश्यक छैन । माओका भनाइहरू र माओका योगदानहरूको कथा चर्चा गर्न जान्दैमा शिरोधार्य गर्न आवश्यक हुँदैन । मूलतः प्रचण्ड र ओलीका व्यवहार, शैली र स्वभावका कसीमा राखेर नेतृत्वको मूल्याङ्कन गर्न जरुरी छ । नेपालका यी २ नेताहरूको चारित्रिक प्रतिविम्ब, वैचारिक प्रतिविम्ब, शैली स्वभाव र चिन्तनले नै आजका दिन राष्ट्रिय चरित्र निर्माण हुन्छ । त्यसकारण, ओली र प्रचण्ड नेपालका एक कालखण्ड हुन् ।

ओली स्मार्ट प्रधानमन्त्री हुन् । उनको स्मार्टनेसले, हाकाहाकी बोल्ने शैलीले र उनको खरो, टर्रो स्वभावले पनि नेपाली राजनीतिमा काम गरेको देखिन्छ । उनको दृष्टिकोण सकारात्मक नकारात्मक जे भए पनि प्रभावी हुने गर्दछ । वैचारिकता सबल वा कमजोर जस्तै भए पनि तार्किकता राम्रै छ । जिन्दगीको नाटक मञ्चन राम्रैसँग गरेका छन् । पर्दापछाडि जस्तै भए पनि पर्दा अगाडि शानदार नाटक गर्न सक्ने क्षमता छ । दलबल परिचालन गर्न सक्ने निडर निर्भिक र निर्वाध रूपमा वोल्ने उनको क्षमता प्रशंशनीय छ । जे होस् उनमा एकजना नेतासँग हुनुपर्ने गुण छ । सकारात्मक आडम्वर र रवाफ छ । आफनो कार्यकाल ऐतिहासिक र स्मरणीय बनाउँछु भन्ने दृढता छ । नेपाल सकारात्मक सम्भावना र सुन्दर कल्पना उजागर गर्न खोजेका छन् । स्वाभिमान र देशभक्ति प्रदर्शन गर्न सफल देखिन्छन् । आफ्नो शत्रुलाई ठेलेर, पेलेर सक्ने सामथ्र्य उनीसँग छ ।

प्रचण्ड पनि कम छैनन् । शताब्दीयौं पुुरानो राजनीतिक सत्ता, सामाजिक सत्ता र धार्मिक सत्तालाई हाँक दिँदै विद्रोह गर्ने साहसी नेताका रुपमा आफूलाई उभ्याउन सकेका छन् । पुुरानो सत्ता भत्काएर नयाँ सत्ता स्थापित गर्नु, निकै जब्बर भएर वसेको सामाजिक र राजनीतिक सत्तालाई ढाल्नु चुनौतीपूर्ण र जटिल कुरा हो । तर, यसलाई सम्भव तुल्याउने उनको दृढता र सकल्प प्रशंशनीय छ । अझ, राजनीतिमा सबै शक्ति, स्रोत र साधनको प्रयोग र उपयोग गर्न जान्ने प्रचण्ड नेपालका लागि काम लाग्ने नेता हुन् ।

तर, पछिल्ला समयमा यी दुवै नेताहरूको व्यक्तित्व ओरालो लाग्न थालेको देखिन्छ । आफैले तयार गरेका साधन, स्रोत र शक्ति, आफैले प्रतिपादन गरेका सिद्धान्तको व्यवस्थापन गर्दागदै आफ्नो ख्याति गुमाइरहनुपर्ने अवस्थामा पुगेको देखिन्छ । प्रचण्डको राजनीतिक चातुर्य प्रशंशालायक भए पनि ‘बन्दुकको नालवाट उठेको आन्दोलन टेवुलमा पुगेर हार्छ’ भने झै पछिल्लो समयम सम्झौता परस्त हुँदै गएको छ । सम्झौताहीन संघर्ष गर्दै जान नसकेको, धेरै खालको मोर्चावन्दी र घेरावन्दीलाई चिर्ने नाममा आफ्नो पहिचान गुमाउँदै गएको, संसदीय राजनीतिको दलदलमा फस्दै गएको देखिन्छ । सारमा भन्नुपर्दा प्रचण्डलाई क्रान्तिको रापताप गुमाइसकेका र ऊर्जा स्खलित भइसकेका नेताको रूपमा आम जनमानसले बुभ्न थालेका छन् । भिन्न परिचय र उच्च कदका नेताका रुपमा आफूलाई स्थापित गरी सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणको खाका कोरेर उदय भएको नेता पछिल्लो समयमा हिङ्ग बाँधेको टालो साबित हुने अवस्थामा पो पुग्ने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । तर पनि प्रचण्डको राजनीतिक यात्रा अहिलेसम्मको सुखद नै छ । आवश्यकता अनुसार आफूलाई परिवर्तन गर्न सक्न,े धेरै विकल्प दिनसक्ने र राजनीतिमै सम्भावनाको खेती गर्न जान्ने चतुर नेताका रूपमा उनलाई हेरिन्छ ।

ओली र प्रचण्डका अगाडि समस्याका पहाड पनि छन् र सम्भावनाका सागर पनि छन् । नेपालको यो ऐतिहासिक कालखण्ड नेतृत्व गर्ने हिरोका रूपमा सावित गर्ने अवसर र चुनौती सँगै लिएर हिँडनु पर्ने गम्भीर मोडमा छ । जनताका चाहनाहरू र इच्छाहरू थुप्रै छन् । नेपाल असीमित आवश्यकताहरूलाई सीमित स्रोत र साधन उपयोग गरी व्यवस्थापन गर्नुपर्ने चरणमा छ । समृद्धि र सुखको सपना सबैले देखिसकेका छन् । यसलाई पूरा गर्न बुद्धिमत्तापूर्ण ढङ्गले अगाडि वढ्नुपर्ने अवस्था छ ।

अहिले समाजमा लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा आफ्नो हैसियतभन्दा बढी बोल्ने, आफ्नो स्तरभन्दा बढी दम्भ देखाउने, मूल्य मान्यता बिर्सेर धेरै तल झरेर विरोध गर्ने वातारवरण बनेको छ । यसको सिकार यी दुई नेताहरू भइरहेका छन् । धेरैका आक्रोश, पीडा र चिडचिडाहटको उपजका रूपमा व्यक्त हुने सबै खालका आरोप र गालीबेइज्जतीलाई सहेर नेतृत्व सम्हाल्नुपर्ने अवस्थामा छन् । राष्ट्रियताका सवालमा दीर्घसंकल्पित भई सन्तुलित कूूटनीति मार्फत देशको स्वाभिमान, सार्वभौम सत्ता र राष्ट्रिय अखण्डता जोगाउनुपर्ने ऐतिहासिक अवस्थामा देशको नेतृत्व गर्दै गर्दा अविचलित भई उभिनुपर्ने चुनौती पनि छ ।

यस्तो घडीमा देशको नेतृत्व गर्दै गरेका यी नेताहरूको असली परीक्षा हुने हो । जटिल परिस्थितिलाई सरल र सामान्यीकृत गर्नु कम चुनौतीपूर्ण छैन । तसर्थ यहाँनेर ओली प्रचण्डको कौशल, सीप र चातुर्य कामयाब हुन जरुरी हुन्छ । अहिले राजनीतिक व्यवस्था र संविधानका कागजी दस्तावेजभन्दा पनि हाम्रो देशको नेतृत्वको सोच, चिन्तन, साहसयुक्त मनोवृत्ति महत्वपूर्ण हुने समय हो । आफ्नो इतिहास निर्माणको चरणमा रहेका यी दुई व्यक्तिको वौद्घिकता, नैतिकता, राष्ट्रिय भावनाको उचाइ परीक्षण हुने समय हो ।

ओली र प्रचण्डबीचको सम्बन्ध पनि विचित्रको छ । ‘मन परुन्जेल चाटाचाट र मन नपरेपछि काटाकाट’ भन्ने उखानसँग मेल खाने खालको सम्बन्ध छ । यी २ जना मिले मेला र नमिले झमेला हुने गरेको र यसका सिकार नेपाल र नेपाली भइरहेको अवस्था छ । प्रचण्ड र ओलीबीच वाक् युद्घ पनि चल्यो । घोचपेच पनि भयो । फेरि यी दुुईले एकअर्कालाई काँधमा चढाएर देशको शासन सत्ताको वागडोर पनि सम्हाले । ओलीकै कारण प्रचण्डको प्रधानमन्त्री पद खुस्क्यो र प्रचण्डकै कारण ओलीको प्रधानमन्त्री पदको चुकुल पनि खुस्क्यो । यी दुई वीचको सम्बन्धको अन्तरङ्ग अजब देशको गजब कहानी पनि बनेको छ । एक अर्काप्रति होशियार पनि, एक अर्काका अंशियार पनि हुँदै ओली प्रचण्डको सम्बन्ध घाम पानी झै अगाडि बढ्दै छ । दुवै जना महत्वकांक्षी छन् । आ आफ्नो पद, प्रतिष्ठा , सामथ्र्य र शक्ति निर्माणका लागि कसरत गरिरहेका छन् ।

सारमा भन्नुपर्दा, नेताको चरित्र र स्वभावले राष्ट्रिय चरित्र र स्वभावको निर्माण हुन्छ । तर, प्रधानमन्त्री बिरामी हुँदा देश बिरामी नहोस् । प्रचण्ड ओलीको झगडा वा विग्रहले देशमा विग्रह नआओस् । नेपालले नेताहरूको स्वार्थ, प्रतिस्पर्धा, निषेधको नीति, जुँगाको लडाइँ र परस्पर अविश्वासका कारण सिर्जित टकरावको स्थिति व्यहोर्नु नपरोस् । देश अनिर्णयको वन्दी नबनोस् । चीनमा माओत्सेतुंगको विरुद्घ लिनप्याओको उदय भएझै नेपालमा ओली प्रचण्ड एकअर्काविरुद्ध प्रयोग नहोऊन् र एक अर्काका लागि लिनप्याओ सबित नहोऊन् । शुुभकामना !

Logo