सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई हालै एउटा आचारसंहिता जारी गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीच एकता भएर नेकपा गठन भएको करिव डेढ वर्षपछि ११ बुँदे आचारसंहिता जारी गरिएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेको आचारसंहितामा पार्टीलाई नियमित लेबी बुझाउनुपर्ने देखि समाजमा छुवाछुट गर्नेलाई पार्टीबाट निष्काशन गर्नेसम्मका कुराहरु उल्लेख छन् ।
यी हुन् ११ बुंदे आचारसंहिता
१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाईबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ ।
२. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ ।
१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ ।
परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्णरुपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्या्दित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।
३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामा नै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुनेगरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रुपमा राख्नुहुँदैन ।
४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग संचालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा संचालन गर्नुपर्छ । उनीहरूले संचालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानून बमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।
५. समाजमा रहेका कुरिती, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिला माथि हुने हिंसाका विरुद्ध सधैँ खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान संचालन गर्न सधैँ प्रयत्न गर्नुपछ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेद्वार बन्न बन्देज लगाउनुपर्छ ।
६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनु पर्छ ।
७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिशन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफुसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।
८. समाजवादी संस्कृतिको आधार सामूहिक जीवन प्रणाली हो । सामूहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न सकियो भने सामूहिक जीवन प्रणाली विकास गर्न सकिन्छ ।
त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच बनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि संचालन गर्नुपर्छ ।
९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।
१०. समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीचि, छुवाछुत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानूनबमोजिम सँजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।
११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो । मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसंग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।































प्रतिक्रिया