राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो ।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले ६ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

कुल १८ पदका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुदैछ । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी छन् । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।

Logo