अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान भ्रमणमा जाने सम्भावना

अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान भ्रमणमा जाने सम्भावना

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा जाने सम्भावना रहेको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले बुधबार दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको कुरेशीले बताए । विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला उनीहरुबीच ‘साइडलाइन’ वार्ता भएको कुरेशीले जानकारी दिए ।

दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री क्युरेशीले राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको बताएका हुन् । “आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले हामीलाई आश्वस्त पार्नुभएको छ”, क्युरेशीले भने।

उनले आफ्नो वक्तव्यका क्रममा ट्रम्पको भ्रमणको मिति भने स्पष्ट नपारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको कुरेशीले जानकारी दिए।

पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्ने लगायत धेरै महत्वपूर्ण विषयमा पनि उनीहरुले छलफल गरेको बताइएको छ ।सुरक्षाको कारण देखाउँदै अमेरिकाले बेलाबेलामा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिने गरेको बारेमा पनि प्रधानमन्त्री खानले राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराएका थिए ।

ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विशेष प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुरेशीले बताए ।
रासस/सिन्ह्वा

Logo