सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्नुहाेस् – प्रचण्ड

सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्नुहाेस् – प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् ।

सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न आग्रह गरेका हुन्। ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भने ।

नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफारिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए । दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्धा नै नभएको समेत बताए । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सारेका हाैँ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने ।

यसअघि बुधबार दिउँसो मानवअधिकारवादीहरुले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारा सहित अधिकारवादीहरुले प्रदर्शन गरेका थिए ।

Logo