‘आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’ : उपसभामुख

‘आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’ : उपसभामुख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफूले संविधान अनुसार नै प्रतिनिधि सभालाई नेतृत्व विहिनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् ।

संघीय संसदमा प्रतिनिधि सभाको पहिलो बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले संसदको ठूलो पार्टीले सभामुखमा उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी पनि उनले गरिन् ।

उनले भनिन् “बाजी मैले मारेँ । आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु ।”

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन् “मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।”

आफूले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन् । “मैले जे बोलें त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ । ” शिवमायाले भनिन् ।

पत्रकारहरुले पटक पटक आफूलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफूलाई उर्जा मिलेको पनि उल्लेख गरिन् । उनले आफूले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन् “सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।” उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।

Logo