काठमाडौं ।
बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो ।
सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन । शुक्रबार बेलुकी दुई घण्टा सवारी कुर्दा नपाएपछि भक्तपुर दुवाकोटका रामप्रसाद न्यौपाने घर जान पाएनन् ।
निजी व्यापारिक प्रतिष्ठानमा बेलुकी पाँच बजेसम्म काम गरेर पुरानो बसपार्क पुगेका न्यौपानेजस्ता हजारौँ राजधानीवासी बेलुकी समस्यामा पर्ने गरेका छन् । एकाधिकार हट्यो भनिएपनि झन सवारी पाउन मुश्किल भएको गुनासो उनीहरुको रहेको छ । पानी परेका दिन, बिदाका दिन, राजधानीमा विशिष्ट व्यक्तिको सवारी परेका दिन प्रायः बेलुकी राजधानीमा सवारी पाउन समस्या पर्छ । पहिले बेलुकी निश्चित मार्गका सवारी निश्चित समयसम्म पाइन्थ्यो ।
यातायात समिति क्रियाशील रहुञ्जेल बेलुकी साँढे सात बजेसम्म पाइने साँखुमा चल्ने सवारी आजभोलि नियमित छैन । कहिले त पाँच बजेपछि साँखु जाने सवारी नपाइने गरेको यात्रु शुक्रमाया श्रेष्ठले बताइन् । साँखुमा पुरानो साँखु बस व्यवसायी सङ्घको एकाधिकार तोडिएपछि हाल बाबा गोकर्णेश्वर नामका यातायात सञ्चालनमा रहेका छन् । यसैगरी राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ ।
दक्षिणकाली, बनेपा, धुलिखेल, पनौती लगायत स्थान जाने सवारी बेलुका आठ बजेसम्म नै नियमित गुडिरहेका हुन्छन् । सरकारले वि.सं. ०६८ मा रात्रि बस सेवा शुरु गरेको थियो । तर त्यो पनि नियमित हुन सकेन । स्थानीय तहमा आफ्नो क्षेत्रमा सार्वजनिक यातायातको व्यवस्थापन गर्न सक्ने अधिकार रहेको छ । तर हालसम्म धेरैले केही गरेका छैनन् ।
नेपाल भ्रमण वर्ष शुरु भएको छ । राजधानीकै पर्यटकीय गन्तव्यमा जाने सार्वजनिक यातायात थोत्रा छन् । पानी परेका बेला बसभित्रै पानी छिरेर बस्न नसकिने अवस्थाका सवारी पनि निर्वाध सडकमा गुडिरहेका छन् । कति सवारीमा फुटेका सिसासमेत देख्न सकिन्छ । यसतर्फ अनुगमन भएको देखिदैन ।
रत्नपार्कबाट सुन्दरीजल मार्गमा चल्ने बा ३ ख १३१७ र बा ३ ख १७७ नं सिटी यातायातको सवारीमा पाँच महिनाभन्दा लामो समयदेखि झ्यालको सिसा नरहेको यात्रु रामचन्द्र खतिवडाको गुनासो छ । पुस र माघको चिसोमा सिसा नभएको सवारीमा यात्रा गर्नुपर्दा ठण्डीले बिरामी भएर तीन दिनसम्म घरमा आराम गर्नुपरेको उनले सुनाए ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा केही ठूला बस किनेपनि पर्याप्त छैन । यसैगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाले सार्वजनिक यातायातमा केही लगानी गरेका छन् । नगरपालिकाले ध्यान दिएका स्थानमा सहज रुपमा सवारी पाउने गरेको यात्रुले जनाएका छन् ।
यातायात व्यवस्था विभागले पहिले सवारी नपाउँदा, बढी भाडा लिँदा, अथवा सार्वजनिक यातायात सम्बन्धी समस्या भएमा सूचना दिन भनी टेलिफोन नं. सार्वजनिक गर्ने गरेको थियो । हाल बन्द गरिँदा गुनासो राख्ने ठाउँ नभेटिएको यात्रु शशीकला राईले बताए।
“हाल ट्राफिक प्रहरीको १०३, नेपाल प्रहरीको १०० नं. मा फोन गरेर सार्वजनिक यातायातका समस्या राखेपनि कुनै कारवाही हुँदैन, गल्ती गर्ने सवारी एउटालाई कारवाही अरु समस्या क्रमशः कम हुँदै जान्छ, तर किन हाल प्रहरीले कारवाही गर्न छोडेको छ”, उनले भनिन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ सार्वजनिक यातायात सम्बन्धी गुनासा आउने वित्तिकै समाधान गर्ने गरेको बताउँछन् । महाशाखामा बढी भाडा लिएको, गन्तव्यमा नपु¥याएको, सामान छुटेको लगायतका गुनासा धेरै आउने गरेको छ ।
हेलो सरकारमा पनि सार्वजनिक यातायातका गुनासो आउने गरेको टिपोट कर्ता रामहरि न्यौपाने बताउँछन् । बेलुकी उपत्यकाका काठ क्षेत्रमा जाने सवारी पाउन मुस्किल हुने गरेको गुनासो धेरै आउने गरेको उनले बताए । विभागका सूचना अधिकारी तीर्थराज खनालसँग यस विषयमा प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहनन् ।
रासस





























प्रतिक्रिया