पौराणिक कालदेखि आजसम्म नै समाजमा निर्दोष महिलालाई अनेक ढंगले दुःख दिने काम भइरहेछ । यसरी महिलालाई दुःख दिनेमा मूलतः शासक वर्ग नै थियो, सर्वसाधारणले उनीहरूकै सिको गर्थे । प्रायः अचानो बन्नेमा भने महिला नै पर्दथे ।
त्रेता युगमा सीताको कारण रामायण रचियो । द्वापर युुगमा द्रौपदीका कारण महाभारत युुद्ध भयो । पौराणिक साहित्यले यही भन्छ सीताको ‘रूपै बैरी’ भयो, द्रौपदीको विद्वता र नझुक्ने स्वभाव ।
कलियुगमा पनि केही निर्दोष र सोझासिधा नारीलाई खेदिँदै छ । तिमी हामीजस्तै चलाख भइनौ भने जुनसुकै बेला जस्तोसुकै अग्निज्वाला झोसिनेछ तिमीमाथि ।
रावण, कौरव र कंस इतिहासका कुख्यात पात्र शुरुमै कहलिएका होइनन् । जतिबेला सत्ता र शक्तिबाट बेदखल भए तब मात्रै उनीहरू खराब बने । पद र शक्तिमा रहुन्जेल उनीहरू पनि महान् नै भनिएका थिए शायद । तर पतनपछि उनीहरूका कर्तुत छताछुल्ल भए, समाजले उनीहरूलाई इतिहासकै खलपात्र साबित गर्यो ।
महिलाको सवालमा कुरा गर्दा उनीहरू जहिल्यै पराधीनता बेहोर्न बाध्य भए । पुरुषकै संरक्षणमा, पुरुषकै छत्रछायामा मात्र रहने महिलाको कल्पना गरियो समाजमा । आफ्नै स्वतन्त्र अस्तित्व बनाउन खोज्ने, पहिचान बनाएर पुरुषसरह अघि बढ्ने महिलालाई भने खेदो गर्न थाल्यो । जुन अद्यापि छँदै छ ।
प्रसंग दीपिकाको
महिलामाथि हुने विभेद र सामाजिक प्रहारका यावत् घटनामाथि अहिले लेख्न खोजिएको होइन । अहिले मैले कोट्याउन लागेको कुरा छिमेकी मुलुक भारतको हो । प्रसंग हो, भारतीय चलचित्र उद्योग बलिउडकी चर्चित नायिका दीपिका पादुकोणको । उनी हेपिएकी वर्गकी महिला होइनन्, समाजमा आफ्नो स्थान बनाइसकेकी, बलिउडमा राज गरिरहेकी, १०० अर्ब भारुभन्दा बढी सम्पत्ति भएकी, सुुन्दर एवं बौद्धिक महिला हुन् । कुनै पनि पुरुषसँग नजोडिकनै उनको अस्तित्व उज्यालिएको छ । उनी सफलताको एउटा शिखरमा पुगिसेकी छिन् । तर विश्वकै महान् लोकतन्त्र भएको दाबी गर्ने देश भारतमा उनीमाथि अहिले जुन ढंगले प्रहार भइरहेको छ, त्यसो हुनुमा सामाजिक असहिष्णुता बढ्दै गएको गन्ध पाइन्छ । यस्तो लाग्छ क्षमाशीलता र दयाभावको ठाउँ क्रूूरता र निर्दयताले लिँदै छ । मानिसहरू कसैलाई समय दिएर हेर्ने विषयमा एकपल पनि सोच्न चाहन्नन् ।
यही १० तारिखमा पादुकोणको ‘छपाक’ नामक फिल्म प्रदर्शित भयो । एसिड आक्रमणको सिकार बनेकी महिलाको जीवन संघर्षका विषयमा बनेको चलचित्र हो यो । पादुकोण फिल्मकी निर्मात्री पनि हुन् । यद्यपि समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको यो फिल्म उनीमाथि लगाइएको एक आरोपकै कारण तारोमा पर्यो र फिल्मले सोचेअनरूप व्यापार गर्न सकेन ।
बलिउडकी चर्चित अभिनेत्री पादुकोणले केही यही ७ तारिखका दिन जवाहर लाल नेहरू विश्वविद्यालयमा पुुगेकी थिइन् । त्यहाँका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । केही दिनअघि विश्वविद्यालयका विद्यार्थी नेताहरूमाथि भएको आक्रमणको विरोधमा विद्यार्थीहरू आन्दोलित थिए । दीपिका त्यहाँ उपस्थित भएकी मात्र थिइन्, केही बोलेकी पनि थिइनन् तर उनको त्यो उपस्थिति नै सत्तारुढ भाजपाका लागि टाउको दुखाइको विषय बन्यो । दीपिकाको जेएनयू भ्रमण भारतीय सत्ता पक्षधरहरूको लागि गम्भीर मात्रै होइन आपत्तिजनक विषय नै बन्यो । उनको उपस्थितिलाई आतंकवादको समर्थनका रूपमा हेरे केहीले । कतिपयले धार्मिक विषयसँग जोडेर उनलाई गैर हिन्दु र मुस्लिम समर्थकसम्म भन्न भ्याए ।
अन्तर्यमा राजनीति
झट्ट हेर्दा सामान्य लाग्ने यस घटनाले भारतीय समाजका धेरै क्षेत्र र विषयमाथि वादविवाद भए । अहिले भारतीय जनसंख्याको ठूलो हिस्सा दीपिकाको जेएनयू उपस्थितिलाई विभिन्न कोणवाट विश्लेषण गर्दै उनको पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतीय सत्ता पक्षले उनको विश्वविद्यालय गमनलाई पूर्व विद्यार्थी नेता कन्हैया कुमारको समर्थनसँग जोडेर उनको चर्को विरोध गरिरहेको छ । विरोधका क्रममा उनीमाथि सुन्न सकिने र नसकिने सबै लान्छना लगाइएको छ । प्रतिपक्षि राजनैतिक शक्ति र अलि साना समूहहरूले उनको पक्षमा तर्क गर्ने गरेका देखिन्छन् । आखिर उनले राज्यले प्रदान गरेको प्रजातान्त्रिक हकको प्रयोग न गरेकी हुन् । व्यक्तिको वैचारिक आस्था जुनसुकै वाद, दर्शन वा मतसँग जोडिन सक्छ । उनले देशद्रोह हुने के नै काम गरेकी छन् र ?
दीपिकाको पक्ष र विपक्षमा अहिले विविध कुराहरू आएका छन् । घटनाले लोकतन्त्र र लोकतान्त्रिक अधिकारको परिभाषा नै मनोमानी व्याख्या गर्ने अवस्था आएको छ । स्वतन्त्रताको परिभाषालाई समूहगत रूपमा अथ्र्याउन थालिएको छ । सम्पूर्ण भारत दुई पक्षमा विभाजित भएको छ यतिखेर । दीपिका पक्षधरहरूले लोकतान्त्रिक व्यवस्थाले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्न पाउनुलाई व्यक्तिगत अधिकारको रूपमा अथ्र्याएका छन् । अर्कोतर्फ उनको विरोध गर्नेहरू राष्ट्र सर्वोपरि हुने जिकिर गर्दै राष्ट्रधर्म पालना नगरेको आरोप लगाउँदै छन् । विचारधारा राष्ट्रहित विपरीत छ भने लोकतन्त्रको दुहाई दिएर हुँदैन । सार्वजनिक व्यक्ति हुनुका नाताले कलाकार राष्ट्रका विम्ब हुन् । देशद्रोहको आरोप लागेका व्यक्तिको समूहमा उभिनु नै समर्थन गर्नु हो । यसरी दीपिकाले गल्ती गरेकी छिन् ।
सतहमा हेर्दा सामान्य जस्तो लागे पनि अन्तर्यमा भारतीय सत्ता र भारतीय जनता पार्टीप्रति लक्षित षडयन्त्रसँग यो घटनालाई जोडिएको देखिन्छ । भारतीय सिने जगतमा खानहरूको प्रभुत्व छ । भाजपा सरकार यही कारण बलिउडलाई राज्य विखण्डनमा प्रयोग भइरहेको ठान्छ । खासगरी सिने जगत्मा नाम कहलिएका तीन खानहरू प्रधानमन्त्री नरेन्द्र मोदीसँग विमति राख्ने गरेको कुरामा मोदी सूूचित छन् । भारतीय शासन प्रणालीमा फरक अनुुभूूति सहित नयाँ नयाँ योजनाको कार्यान्वयनमा लागेका मोदीलाई केही मानिसहरू मुस्लिम समुदायप्रति अनुदार रहेको पनि बुझ्ने गर्दछन् । खासगरी हिन्दुत्वको नारा बोकेर आफ्नो राजनैतिक वर्चस्व कायम गरेको पार्टीका रूपमा भारतीय जनता पार्टीलाई लिने गरिन्छ । गुजरातको मुख्य मन्त्री भएका बेला ठूलो संख्यामा मुस्लिमहरूको हत्या गराउन उनको हात थियो भन्ने कुरामा विश्वास गर्नेहरू उनलाई मुस्लिमप्रति पूर्वाग्रही शासकका रूपमा समेत व्याख्या गर्दछन् ।
पादुकोण एसिड आक्रमणमा परी बाँच्न सफल भएकी युवती लक्ष्मी अग्रवालको बायोपिक छपाककी मुख्य अभिनेत्री हुन् । उनी आफ्नो फिल्मको प्रमोसनका लागि जवाहरलाल नेहरू युनिभर्सिटिमा पुगेको कुरामा विश्वास गर्न तयार छैन भाजपा । उनले पव्लिक स्टन्टको लागि आफ्नो उपस्थिति देखाएकी हुन् वा वास्तवमै आन्दोलनरत विद्यार्थीहरूको पक्षमा छिन् भन्ने खुुलेको छैन । उनले व्यापक विरोधका बाबजुद पनि आफ्नो स्पष्टीकरण सार्वजनिक गरेकी छैनन् । तर यता अड्कलबाजी र अनुमानका भरमा उनीमाथि विभिन्न किसिमका लान्छना लगाउनेदेखि उनको फिल्म व्याण्ड गर्नेसम्मको अभियान चलिसकेको छ । ह्यासट्याग बायकट छपाकमार्फत उनको सिनेमा बहिस्कार गर्ने अभियान देशव्यापी भएको छ ।
निःसन्देह दीपिकाको करियरमा यसले ठूलो धक्का दिएको छ । उनी अभिनित विज्ञापनहरू बजाउन सञ्चार माध्यमहरू हच्किएका छन् । उनीमाथि विश्वास गरेर विज्ञापनमा खेलाएका २३ वटा ब्राण्डले तत्कालका लागि ‘पर्ख र हेर’ को नीति अँगालेका छन् । धेरैले उनलाई छाड्नसक्ने अनुमान छ । यसबाट दीपिकालाई आर्थिक रूपमा ठूूलो घाटा लाग्ने देखिन्छ ।
सत्ता र शक्तिशाली व्यक्तिको समर्थनमा नउभिएकै कारण यति ठूलो सजाय मिल्यो कि उनी साँच्चै कम्युनिस्ट समर्थक भएकाले यसरी खेदिएको हो ? जे भए पनि एकजना इमान्दार कर्मवादी नारीलाई सिंगो सत्ताले खेदेको छ । यसको प्रमुख अभियन्ता दिल्लीका भाजपा नेता भएका छन् ।
किन खेदियो उनीलाई ?
कन्हैया कुमार देशद्रोही युवा हुन् वा जवाहर लाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठन राज्यद्वेषी हो भने किन निर्वाध रूपमा सञ्चालन भएका छन् उनीहरूका गतिविधि ? किन विघटन भएन उनीहरूको संगठन ? किन निर्वाध चलिरहेका छन् राजनीतिक गतिविधिहरू ? अनि हिंसापीडित विद्यार्थी समुदायको पक्षमा आवाज विहीन उपस्थितिले मात्रै पनि भारतीय सरकार र यसका पक्षधरहरू थरथर किन काँपेका ?
यो घटनाले सोच्न बाध्य बनाएको छ । शासकहरू क्रूूर नै हुन्छन् त ? सत्ता र शक्तिको उन्मादले लठ्ठिएको शासकले विरोधीको जुनसुकै ढंगले सफाया गर्न पाउने हो ? लोकतन्त्रको दुहाइ दिने प्रधानमन्त्री नरेन्द्र मोदीले दीपिका प्रकरणमा लचिलो हुनु पर्ने कि नपर्ने ? यस्ता अनगिन्ती सवालहरू उब्जिएका छन् ।
लोकतन्त्रको सुन्दरतम पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता हो । फेरि दीपिका कुनै आतंकवादी संगठनको समर्थनमा गएकी वा पक्षमा भाषणबाजी गरेकी पनि होइनन् । उनीमाथि सप्रमाण लगाउन सकिने वा पुष्टि हुने कुनै पनि आरोप छैन । तथापि उनी चौतर्फी आक्रमणको निशानामा परेकी छन् ।
किन भयो उनीमाथि आक्रमण ?
के उनी कसैको षडयन्त्रको सिकार भइन् ? कसैले उनीलाई उपयोग गरेको हो ? के उनी भारतीय राजनीति, समाज र संस्कृतिको गहिरो अध्ययन वा बुझाइ अभावका कारण त्यहाँ पुगिन् ? के दीपिका मोदी विरोधी हुन् ? वा फिल्ममा ब्रेक दिने शाहरूख खान वा अवसर दिने अन्य प्रभुत्वशाली खानहरूले उपयोगमा ल्याएकी निर्दोष पात्र मात्रै हुन् ? यस्ता यावत सवालहरू यो मुद्दाले खडा गरिदिएको छ । उनको मौनताले शँका गर्नेहरूलाई थप सुविधा प्रदान गरेको छ ।
उनी किन मौन छिन् ?
दीपिका बोलिन् भने दुईवटा कुरा हुनेछ । या त उनले भन्नेछिन् म विशुद्ध रूपमा मेरो व्यवसायिक उद्देश्यका लागि त्यहाँ गएकी थिएँ । या राज्यद्वारा हिंसामा परेका कन्हैया कुुमार र उनका साथीहरूको समर्थनका लागि त्यहाँ पुगेकी थिएँ ।
यी दुवै जवाफ उनका लागि प्रत्युत्पादक देखिन्छन् । पहिलो तर्कले उनलाई अविवेकी र परिस्थितिको राम्रो विश्लेषण गर्न नसक्ने आलीकाँची केटी ठहर्याउन सक्छ । किनकि उनी भारतीय प्रतिस्पर्धी सिने जगतकी परिपक्व नायिका भएको हेर्न चाहन्छ समाज । निर्भया काण्डजस्ता घटनाहरूमा आफ्नो उपस्थिति नदेखाउने नायिकाले हिंसापीडित महिलाको विषयमा गरेको अभिनयमा आफूलाई घटनासँग किन तादात्म्य कायम गर्न सकिनन् ? किन फिल्म प्रमोसनका लागि जेएनयू नै रोजिन् ? दोस्रो तर्क जुन उनीमाथि शंकाको रूपमा ल्याइएको छ, त्यो वास्तविक भयो भने उनी पूर्ण रूपमा बहिष्कृत हुनेछिन् । उनको करियर धरापमा पर्न सक्ने सम्भावना छ ।
कस्ता छन् उनीमाथि लागेका आरोपहरू ?
के उनी गृहयुद्ध निम्त्याउन सक्ने शक्तिशाली पात्र हुन् ? लक्ष्मी अग्रवालमाथि एसिड प्रहार गर्ने व्यक्ति नदिम खानको नाम सिनेमामा राजेश शर्मा बनाएर किन मुस्लिमहरूको अपराधको बचाउ गर्न खोजियो ? यसमा के कसैको दवाव वा प्रभावले काम गरेको हो ? के छपाक फिल्मबाट संकलन भएको रकम आतंकवादी गतिविधिमा वा सरकार विरोधी काममा खर्च हुनसक्छ ? के उनी अराष्ट्रिय र अधार्मिक नारी हुन् ? के कन्हैया कुमार, दाउद इब्राहिम र पाकिस्तानी आतंकवादीको स्वार्थमा काम गर्ने व्यक्ति हु्न् ? जो जेसुकै भए पनि बलिको बोको दीपिका बनिन् ।
भारतीय घटनामा हाम्रो चासो किन ?
भारतको बाछिटा सबैभन्दा पहिला नेपालमै पर्ने गरेको छ । नेपालमा त झन् सबै क्षेत्रमा यसरी घुसेको छ राजनीति कि त्यस्तो कुनै क्षेत्र छैन जसमा विशुद्ध व्यावसायिक बनेर टिक्न सकियोस् । चाहे पनि नचाहे पनि यौटा राजनीतिक शक्तिको आडभरोसा भएन भने बचाउने कुनै तागत वा शक्ति हुनेछैन । अपराध गरेर चोखिन राजनीतिको शरण लिने घटनाहरू नेपालका लागि रीति नै बनेको छ । राजनीति नगरे पनि राजनीति बुझ्नै पर्ने बाध्यता सिर्जना भएको देखाउँछ दीपिका प्रकरणले ।
विशेष गरी महिला वर्गले राजनीतिको मर्म नबुझी टिप्पणी गर्दा मात्रै होइन शक्ति र सत्ताले नरुचाएको ईशारा गर्दा पनि ठूूलै दण्डको भागीदार हुुनुुुपर्ने तथ्य पादुकोण प्रकरणको ज्वलन्त प्रमाण हो । यो अज्ञानता र इमान्दारिता क्षम्य हुनेछैन भन्ने पाठ पनि हो । त्यसैले नारी हो, अब समाज बुझ, राजनीति बुझ र सही एवं गलतको भेद पर्गेल्न सिक ।





























प्रतिक्रिया