तनहुँ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा शुक्रबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री ढकालले अस्पतालको विकासका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उपचार केन्द्रका लागि यथोचित दरबन्दी व्यवस्थापन गर्ने बताउँदै मन्त्री ढकालले भने, “जिपी कोइराला उपचार केन्द्रको भविष्य निर्माण गर्न सरकार गम्भीर छ ।” अस्पतालको स्वामित्वमा रहेको ७४० रोपनी जग्गा अतिक्रमण हुने खतरा बढेको आफूले जानकारी पाएको भन्दै उनले सरकारी जग्गा अतिक्रमण गर्ने कार्य सरकारलाई सह्य नहुने बताए ।
शुक्लागण्डकी नगरपालिकाप्रमुख किसान गुरुङले उपचार केन्द्रको विकासका लागि स्थानीय सरकारका तर्फबाट पनि सहयोग रहने बताए । शुक्रबारदेखि शुरु भएको शिविर आइतबारसम्म सञ्चालन हुनेछ । शिविरमा श्वासप्रश्वास, स्त्री, बाल, नाक, कान, घाँटी, आँखा, हाडजोर्नीका विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिने उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।
स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।
सो २५ शैयाको अस्पतालमा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता सेवा लिन आउँछन् । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
रासस





























प्रतिक्रिया