प्रि-स्कुल : बालमैत्री पूर्वाधार, बालप्रेमी कर्मचारी

प्रि-स्कुल : बालमैत्री पूर्वाधार, बालप्रेमी कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रि–स्कुल अर्थात पूर्वप्राथमिक विद्यालय शिक्षा । जसलाई औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ । अर्थात् यो शिक्षाको जग हो । हिजोआज पूर्वप्राथमिक विद्यालयमा नानीबाबुहरुलाई भर्ना गराउने अभिभावकहरुको संख्या पनि बढेको छ । विशेषगरि ब्यस्त सहरी जीवनशैलीका कारण अभिभावकहरुलाई यस्ता स्कुल निकै नै प्रभावकारी हुने गरेको छ । अभिभावकहरुको माग तथा नानीबाबुहरुको चाहना अनुरुप विद्यालयहरुले पनि त्यहि किसिमको वातावरण बनाइरहेका छन् ।

धेरैजसो अभिभावकहरुले श्रीपञ्चमी अर्थात् सरस्वती पूजाका दिन नानीबाबुहरुलाई अक्षराम्भ गराउने चलन छ । यसवर्ष पनि सरस्वतीपूजा नजिकिँदै छ । यस दिनकै सन्दर्भ पारेर थुप्रै अभिभावकहरु आफ्ना नानीबाबुहरुलाई प्रि स्कुलमा भर्ना गर्ने तयारीमा छन् भने विद्यालय संचालकहरु पनि यसको तयारीमा जुटिसकेका छन् । यस दिनलाई शिक्षाको लागि उत्तम दिन मानिन्छ ।

नानीबाबुहरुलाई कलम समाउन सिकाउने मात्र नभई उनीहरुको शारीरिक र मानसिक विकासको लागि पनि प्रि स्कुल महत्वपूर्ण हुने बताउँछिन् मानसी किड्स प्यालेस डिल्लीबजारकी प्रधानाध्यापक सीता अर्याल । “बालबालिकाको उज्वल भविष्यका लागि प्रि–स्कुल अत्यन्त महत्वपूर्ण आधार हो ।” उनले भनिन् । प्रि–स्कुलको आवश्यकताबारे प्रकाश पार्दै अर्याल थप्छिन्—“यसले बच्चाको शैक्षिक जग बसाल्न मात्रै नभई बच्चालाई सामाजिक बनाउन, आफ्नो उमेरका बच्चाहरुसँगै घुलमिल बनाउन, दोहोरो संवाद गर्न, शारीरिक मानसिक विकास गर्न सजिलो बनाउँछ ।” अर्यालका अनुसार बच्चाहरुको स्वभाव व्यवस्थापन गर्न, बच्चाहरुको आत्मविश्वास बढाउन तथा परिवारिक वातावरणबाट बाहिरका सबै खाले चुनौतीको सामना गर्न पनि यस्ता स्कुलले बालबालिकालाई सजिलो बनाइरहेका छन् ।

प्रिस्कुलहरुले नानीबाबुहरुलाई आफ्नो नाम लेख्न, साथी र वस्तुगत महत्व बुझ्न बच्चाहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न सिकाउने गरेका छन् । प्रिस्कुलहरुले उनीहरुलाई सांस्कृतिक र प्राकृतिक महत्व बुझाउन महत्वपूर्ण योगदान गर्नुका साथै जागिरे अभिभावकका लागि बच्चाहरु हेरचाह गर्न पनि सहयोग पु¥याइरहेका छन् ।

प्रि–स्कुलमा कलिला बालबालिका पढ्ने हुँदा त्यहाँको पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय प्रि–स्कुल सानो क्षेत्रमा सञ्चालन गरेको पाइन्छ तर बच्चाहरुलाई कक्षाकोठामा मात्र सीमित नभई बच्चाहरुको क्रियाकलाप बढी गराउन खुल्ला ठाउँ हुनुपर्दछ । त्यसैलाई मध्यनजर गरेर आफूहरुले ठूलो क्षेत्रफलमा प्रि–स्कुल सञ्चालन गरेको प्रिन्सिपल अर्यालको भनाई छ ।

मानसी किड्स प्यालेस, डिल्लीबजारले बच्चाहरुको सर्वाङ्गीण विकासलाई ध्यान दिएर विद्यालयको पूर्वाधार तयार गरेको छ । यहाँ खेल्ने खेल स्टेशनदेखि बच्चाहरुको न्युरो मोटर सीप तथा आँखा र हातको संयोजनको लागि चाहिने मन्टेश्वरी ल्याव स्थापना गरिएको अर्यालले जानकारी दिइन् ।

बालमैत्री वातावरण यस्ता विद्यालयको पूर्वाधारको महत्त्वपूर्ण पाटो हो । बच्चाहरुले प्रयोग गर्ने फर्निचरदेखि खेल सामाग्री, शौचालय बालमैत्री हुनुपर्ने युरो किड्स बुटवलकी प्रिन्सीपल अनिता खनालले बताइन् । बच्चाहरुका लागि अतिरिक्त क्रियाकलापको लागि छुट्टै ठाउँ चाहिन्छ । त्यस्तै साना बच्चाहरुलाई सुताउन सफा कोठाको आवश्यकता पर्दछ ।

प्रि–स्कुलको अर्काे महत्त्वपूर्ण पक्ष त्यहाँको जनशक्ति पनि हो । प्रि–स्कुलमा हुने प्रिन्सिपल, शिक्षिका र अन्य कर्मचारी बालप्रेमी हुनुपर्दछ । तालिम प्राप्त शिक्षिका नभएमा बच्चाहरुको स्वभाव र मानसिकता बुझ्न कठिन शिक्षक तथा अभिभावकहरुको अनुभव छ ।

यस्ता विद्यालयहरुमा कलिला बालबालिकालाई पढाउने पाठ्यक्रम बच्चाको शैक्षिक, मानसिक र शारीरिक वृद्धि हुने खालको हुनुपर्दछ । पढाउने नाममा बच्चाहरुलाई धेरै पढाउदा बच्चाहरुमा पढाईप्रति वितृष्ण हुने डर पनि त्यतिकै रहन्छ । त्यसैले बच्चाहरुको पाठ्यक्रम कक्षा १ लागि सहयोग हुने खालको हुनुपर्छ । यो उमेरका बच्चाहरुलाई गहिराइबाट सिकाई प्रवृतिमा जोड दिनुपर्दछ ।

यूरो किड्सकी प्रिन्सिपल खनालका अनुसार बच्चाहरुलाई सकेसम्म बढी क्रियाकलाप गराएर सिकाइयो भने उनीहरुले राम्ररी सिक्न सक्छन् । यस्ता स्कुलहरुमा बच्चाहरुलाई पाठ्यक्रमका कुराहरुमा मात्र सीमित गर्न नहुने र उनीहरुलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक ज्ञानहरु पनि दिनुपर्ने हुन्छ ।

प्रि–स्कुलमा बच्चाहरु करिब ६ घण्टा रहने हुँदा बच्चाहरुको खानामा विशेष ध्यान दिन पर्नेहुन्छ । बच्चालाई कम्तिमा २–३ पटक खुवाउने व्यवस्था हुन्छ । सफा र पौष्टिक खानेकुरा प्रि–स्कुलको अनिवार्यता नै हुनुपर्दछ । त्यसले बच्चाको शारीरिक विकासमा मद्दत गर्दछ । प्रि–स्कुलले बच्चाहरुको शैक्षिक, मानसिक, शारीरिक र सामाजिक विकासमा मद्दत गर्ने भएकोले आफ्ना बाबुनानीलाई भर्ना गर्नुअघि अभिभावक आफैंले राम्रो बुझ्नुपर्ने हुन्छ ।

Logo