काभ्रे ।
काभ्रेको पाँचखाल नगरपालिकामा खानेपानी समस्यालाई सम्बोधन गर्न ‘सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना’ कार्यान्वयनमा आउने भएको छ । गतहप्ता योजनाको बोलपत्र समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न एशियाली विकास बैंक (एडिबी) ले सम्पूर्ण कागजात पठाएको छ ।
परियोजना दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुनकोशी–पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागतमा सम्पन्न हुनेछ ।
परियाजनाको गत भदौ १२ गते खानेपानी आयोजना अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको कार्य धमाधम भइरहेको छ ।
सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये २० प्रतिशत परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नगरपालिकाले गत जेठ महिनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो ।
साथै परियोजना समयमै सम्पन्न गर्न निर्धारित समयमा रकम जम्मा गर्नुपर्ने भएपछि स्थानीय व्यक्तिसँग ऋण सापटीसमेत लिइएको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष लामिछानेका अनुसार डेढ करोड ऋण सापटीबाट जम्मा गरिएको छ । “हामीले पाँचखालवासीलाई खानेपानी दिलाउन जसरी पनि योजना सम्पन्न गर्नुछ, त्यसैले अनेकन जुक्ति निकालिएको हो”, उनले भने ।
उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महिनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना छ । स्थानीय सहकारी संस्थाले पाँचखाल नपा कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून ब्याजदरमा ऋण दिलाएको वडा नं ७ का अध्यक्ष पुष्कर ढकालले जानकारी दिए । उनले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नगरपालिका कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ।”
रासस





























प्रतिक्रिया