चितवन ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि त्यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।
स्वदेशी उद्योगी व्यवसायीलाई बढीभन्दा बढी लगानीमा आकर्षित र व्यवस्थापन गर्न सक्नुपर्ने भन्दै उनले त्यसपछि मात्र बाह्य लगानीको कुरा गर्नुपर्नेमा जोड दिए । बाह्य लगानी आउनेतिर आकर्षण बढेको भन्दै उनले लगानीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए ।
सरकार र निजी क्षेत्रमा देखिएका कमि कमजोरी दुवै क्षेत्रले सच्याउनुपर्छ भन्दै उनले भने,“उद्योगी व्यवसायीको देश बनाउन र विकासमा महत्वपूर्ण भूमिका छ तर कहिं न कहीं कमी कमजोरी छ । आफूभित्रका कमी कमजोरीलाई समीक्षा गरौँ ।” निजी लगानीको अनुकूल नभए परिमार्जन र नयाँ बनाउन सकिने भन्दै त्यो खालको कार्यविधि बनाउन आफू तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गीता वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतम, धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतले बोलेका थिए ।































प्रतिक्रिया