काठमाडौं ।
शाली नदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्रे नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । स्थानीयवासीको अवरोधका कारण ठेकेदारले काम गर्न नपाएका थली र सलम्बुटारमा तत्काल सडक कालोपत्रे गर्न नसकिए पनि ग्राभेल गर्न आयोजनाले भनेको छ । उनले भने, “ठेकेदारले अवरोध गरिरहँदा किन कालोपत्रे गर्ने भने पनि हामीले ठेकेदारलाई सम्झाएर कालोपत्रे गर्न भनिरहेका छौँ ।”
चार वर्ष पहिले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । दश किमी सडकमध्ये पाँच किमी कालोपत्रे सम्पन्न भइसकेको छ भने झण्डै पाँच किमी कालोपत्रे बाँकी छ । कालोपत्रे गर्न बाँकी सडकमध्ये पनि झण्डै डेढ किमी सडकमा समस्या रहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “पूरै सडक केही दिनभित्रै खाल्डारहित हुनेछ ।”
चाबहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्ड अनुसार सडक चौडा भइरहेको छ । चौडाइ मापदण्ड अनुसार कायम भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने ढललगायतका पूर्वाधारको निर्माण भइरहेको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णयकै आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्ड अनुसार सडक निर्माण हुन नसकेको हो ।
रासस































प्रतिक्रिया