लन्डन ।
बेलायती महारानी एलिजाबेथ र शाही जिम्मेवारी त्याग गर्ने घोषणा गरेका राजकुमार ह्यारीबीच आज प्रत्यक्ष कुराकानी हुने भएको छ।
ड्युक अफ ससेक्स भनिने राजकुमार ह्यारी र उनकी पत्नी डचेस अफ ससिक्स भनिने मेगन मार्कलको भविष्यमा हुने भूमिकाबारे महारानी र राजकुमारबीच छलफल हुन लागेको बेलायती राजदरबार स्रोतलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
महारानीसँगको छलफलमा राजकुमार ह्यारी, ड्युक अफ क्याम्ब्रिज र वेल्सका राजकुमार सबै सहभागी हुने बकिङ्घम दरबारले जनाएको छ। दरबार स्रोतका अनुसार हाल क्यानडामा रहेकी मेगनले पनि फोन मार्फत् उक्त छलफलमा सहभागिता जनाउन सक्नेछिन् ।
केही दिन अघि मात्रै राजकुमार ह्यारी र मेगनले शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका थिए। महारानी एलिजाबेथसहित राजदरबारका उच्च व्यक्तित्व र राजकुमार ह्यारीबीचको छलफलले तार्किक निष्कर्ष निकाल्छ भन्नेबारे भने ठ्याक्कै भन्न नसकिने बिबिसीले जनाएको छ। सोमबारको छलफलमा के विषयमा सहमति हुन्छ भन्ने विषय पनि पेचिलो रहेको बताइन्छ।
केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई सोमबारको छलफलले ‘अर्को चरण’मा पुर्याउने आशा गरिएको छ।
बिबिसी































प्रतिक्रिया